विधाको अनौठो संवाद

शङ्कर लामिछानेका निबन्धमा राजनीतिक चेतना जर्ज अर्वेलका निबन्धमा जस्तो प्रयोग हुँदैनन् । अर्वेलका निबन्ध खासमा लामिछानेका जस्ता निजत्व र भावनाले लेखिएका छैनन् ।

माघ १५, २०७३

अभि सुवेदी

दुवै लेखकले निबन्ध लेखेका हुन् । शङ्कर लामिछाने (संवत् १९८४–२०३२) र जर्ज अर्वेल (सन् १९०३–१९५०) क्रमश: अठ्चालीस र सत्चालीस वर्षमै दिवंगत भएका दुई प्रतिभाशाली लेखकका निबन्धको प्रसङ्ग छ । यो कुरा तुलनात्मक रूपमा पहिले उठेको थिएन ।

यो सङ्कथनमा यी दुई लेखकको कुरा उठ्यो । वास्तवमा भन्दा यी दुई लेखकको बीचमा समानताभन्दा अन्तर बढी छन् । लामिछाने निबन्धकार हुन् । उनले लेखेका एकचालीसवटा निबन्धलाई लिएर हामीले छलफल र चर्चा गर्नुपर्छ । जर्ज अर्वेलले छवटा उपन्यास, तीनवटा गैरउपन्यास, फुटकर निबन्ध र संस्मरण लेखेका छन् । तिनमध्ये अर्वेलको ‘नाइन्टिन एट्टीफोर’ (१९४९) र ‘एनिमल् फारम्’ (१९४५) अनि उनका बर्मा संस्मरण अंग्रेजी भाषा र राजनीति विषयका अनि हात्ती मार्ने विषयका निबन्धहरू चर्चित छन् । अर्वेलका निबन्धहरूको सार उनका उपन्यासँग जोडिन्छ । ती अधिनायकवादको विरोध गर्थे । ‘नाइन्टिन एट्टीफोर’ मा तिनले यस्तो डिक्टेटर राज्यको कल्पना गरेका छन् जहाँ बोलिने भाषा राज्यको नियन्त्रणमा यान्त्रिक हुन्छ । त्यो भाषामा ज्यान हुँदैन । सबै मानिसलाई यन्त्रवत् डिक्टेटर राज्यले त्यही भाषा बोल्न लगाउँछ । त्यो निउज्पिक् भन्ने सरल तर केही अर्थ नलाग्ने भाषा राज्यले चलाउँछ । त्यसैगरी ‘एनिमल् फार्म’ मा समान सुँगुरहरूमध्येबाट कोही कोही बलिया सुँगुर निस्केर भन्छन्, ‘हामी सबै समान हौं, तर हामीमध्येबाटै कोही कोही बढी समान छौं ।’ ती बढी समान डिक्टेटर नेतृत्व हुन् जसको सानो वर्गले शोषण र दासता कायम गर्छ । अरू जनावर निरीह भएर काम गर्छन् । तर कालान्तरमा ती विद्रोहमा उत्रिन्छन् । अत्यन्त कुशलतापूर्वक लेखिएको यो लघु उपन्यास अन्त्यन्त वाचाल छ । केही डिक्टेटरका ‘आइडियोलोजी’ मान्ने समालोचकहरूले यो उपन्यासको प्रकारान्तरले आलोचना गरेका छन् । अर्वेलले ‘राजनीति र आङ्ल भाषा’ निबन्धमा यान्त्रिक प्रयोग गरिंदै जाने यो भाषाको प्रयोगमा सिर्जनशीलता मर्दै जाने कुरा लेखेका छन् । अहिले आएर आङ्ल भाषा विश्वव्यापी भएको छ, तर अहिले पनि अमेरिका र ब्रिटेनतिर हुने राजनीतिक परिवर्तनलाई अर्वेलको यो भविष्यवाणीसँग जोड्ने जमर्काहरू प्रकारान्तरले देखिएका छन् । अर्वेलका निबन्धमा उनको एसियाली खास गरेर बर्माली दिनहरूमा पाएको अनुभवका निबन्धहरू वास्तवमा प्रबन्ध हुन् । ती भावुक छैनन् अनि विचारात्मक छन् । 

यो तुलनात्मक लेख लेख्ने सन्दर्भ परेका छन् । गएको साता दुवैको स्मृति दिवस थियो । हामीले लामिछानेलाई सम्झियौं । विश्वले अर्वेललाई सम्झियो । यस्ता अवसरमा लेखक सम्झिनु एकदमै स्वाभाविक प्रक्रिया हो । मैले झापाको एउटा मेडिको–सामाजिक महोत्सवमा भएको बेला पत्रिकामा शङ्कर दाइको विषयमा केही ‘फिचर’ पढ्न पाएँ । उपन्यासकार पिटर जे कार्थकको अन्तर्वार्ताले धेरै सम्झना ताजा गरायो । पिटर शङ्कर दाइसँग भएका अनौठा भेटहरूको वर्णन हामी रमेश श्रेष्ठ, निर्मलमान तुलाधर, साबि ठाकुरलाई विशेष सेसनहरूमा सुनाउँथे । हामी अत्यन्त आसन्नताले सुन्थ्यौं । पछि पिटरको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को भूमिका शङ्कर लामिछानेले लेखे । हामी त्यो लेखनसँग सहभागी भयौं किनभने पिटरको उपन्यास ती संगीतकार भएका हुनाले अमूक सिम्फोनीका ‘मुभमेन्ट’ हरूजस्ता खण्डमा बाँडिएको छ । त्यो दार्जिलिङको अमूक जीवन, अनि पात्रहरूका गतिहरूले बनेको छ । हाम्रो बुझाइमा त्यो एउटा सिम्फोनी नै थियो । मेरानिम्ति त्यो सिम्फोनी नै छ । समय वाग्मतीको पानीजस्तो धेरै बगिसकेछ अहिलेसम्म । यसो भनौं, धेरै पटक यो उपन्यासको सिम्फोनी प्रस्तुत भएको छ । कति ठाउँमा प्रयोग भयो त्यो हामी कसैलाई थाहा हुँदैन । साहित्यको अर्थ त्यही हो । आयरल्यान्डका कवि डब्लुबी यिट्स्को मृत्यु (सन् १९३९) मा कवि अडेनले लेखे, ‘कवि तिमी अहिले अज्ञात पाठक र प्रशंसक भएका छौं । कति मानिसले आजको चिसो रातमा तिमीलाई पढे । त्यो हामीलाई थाहा हुँदैन ।’ मलाई पिटरको यो उपन्यासको ऐतिहासिक महाकाव्यिक चरित्रले अहिले पो झन् समात्छ । 
शङ्कर लामिछाने उर्फ शङ्कर दाइले लेखेको पिटरको उपन्यासको भूमिका त्यो महाकाव्यिक ऐतिहासिक स्पन्दनको एक नोट हो । त्यो निबन्ध हो । म यही बिन्दुबाट उनको निबन्धतिर पस्छु । मेरो विचारमा शङ्कर दाइका निबन्धमा बृहत्तर काव्यिक ऐतिहासिकता र व्यक्तिका निजी थिएटरहरूको समागम हुन्छ । म संक्षेपमा शङ्कर दाइ र अर्वेलका निबन्धले जन्माएका साझा अनुभूतिबारे केही निष्कर्ष निकाल्ने प्रयास गर्छु ।     
‘गौंथलीको गँुड’ (२०२५)मा शङ्कर दाइको प्रसिद्ध निबन्ध ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’ सहित तेह्रवटा निबन्ध छन् । अरू संग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ (२०२४, २०५७) मा दसवटा निबन्ध छन् । अनि ‘गोधूलि संसार’ (२०२७) मा उनका प्रायश: प्रख्यात मुख्य अठारवटा निबन्ध राखिएका छन् । यसमा राखिएको ‘गैलरीमा एक दिन’, ‘अर्धमुदित नयनको कथा’ ले शङ्कर दाइको निबन्धको एउटा अन्तर्भाषिक सन्दर्भहरू भएको शैली प्रस्तुत गर्छ । ‘अर्धमुदित नयन’ मा अंग्रेजी नै सोझै लेखिएको छ । यसको निम्ति उनले ‘गैलरी’ जस्तो रङ्गमञ्च छानेका छन् जहाँ अन्तर्भाषीय र विषयलाई खेल्ने ठाउँ हुन्छ । यसमा नेवारी र अंग्रेजी भाषाका प्रयोग भएका छन् । जापानी शब्दावली छन् । क्लार्क होटलको यो मञ्चमा उनको कलाकार गुजरसँग भेटघाट हुन्छ । यो थलो छान्नु शङ्कर दाइको शैली हो । यस्ता मञ्चबाट उनी नबुझिने र आमवृत्त फराकिलो भएका विषयमा प्रवेश गर्छन् । बुझिने र नबुझिने लेखनका कुरा आउँछन् । कसो–कसो शङ्कर दाइको प्रभाव हामी केहीलाई परिबसेको हो कि । मैले सामना गर्ने विषय त्यस्तै हुन् । 
शङ्कर दाइ भन्छन्, ‘मैले आफैं पनि अंग्रेजी, उर्दू, संस्कृतलाई प्रशस्त प्रयोग गरिदिएको छु । (किताबको नाम नै एब्स्ट्रयाक्ट छ) ।’ शङ्कर दाइका यी हरफ पढेपछि म आफ्ना निबन्धसंग्रहको नाम नै ‘फ्लानरको डायरी’ (२०७२) राख्ने मानिसले अरू कुराहरू पनि भन्दै जानुपर्छ । बुझिने र नबुझिने विषय शङ्कर दाइको पनि लेखकीय अस्मितासँग जोडिएको थियो । सबैका अनुभव छन् । मलाई माघ १० २०७३ को दिन खगेन्द्र संग्रौला र मलाई ‘मेडिकल महोत्सव, झापा’ को सेसनमा त्यही प्रश्न गरे, दर्शकले । मेरा स्व. मीत तेह्रथुमका पदमबहादुर न्यौपाने ‘तिमीले लेखेका सबै लेख पढ्छु, तर धरोधर्म केही बुझ्दिनँ’ भन्थे । शङ्कर दाइको अर्को निबन्ध ‘खै बुझिंदैन’ मा त्यस्तै परिवृत्तभित्र लेखिएको छ । त्यसो त लक्ष्मीप्रसाद देवकोटाका कति निबन्ध पो सहजै बुझिएलान् र † तर भाषाशास्त्रको अध्ययन गर्ने अनि पछिका उत्तरवर्तीहरूसँग परिचित र तिनका आलोचक सबैले बोध गरेको कुरा एउटा छ । त्यो हो, सरल लेखन पनि बुझिंदैन किनभने मैले ‘ल यत्ति सत्य हो’ भनेर लेखेको कुरा अर्कालाई अर्थ लाग्दैन । सरल वाक्य सबभन्दा जटिल हुन्छन् भन्ने जापानी जेन कवि र हाइकु लेखकहरू सरलताजस्तो अप्ठयारो केही देख्दैनन् । तर मलाई सधैं सरल लेखन मन पर्छ । त्यही प्रयास गर्दा मेरा निबन्ध जटिल पनि भएका हुन्, ठाउँठाउँ । मलाई मन पर्ने सरलता मात्रै हो । यसरी शङ्कर दाइ हामीसँग अनेकौं किसिमले छन्, निबन्धको निबन्धात्मक अभिव्यक्तिमा । त्यो छलफलको विषय हो । ‘मौन अभिव्यक्ति’ मा शङ्कर दाइ लेख्छन्, ‘अँ त, लेख्दालेख्दा आजकाल अलि वाक्क पनि लाग्न थाल्यो– लेख्ने कुराले होइन, लेखनबीचका कुराले अझै स्पष्ट भन्ने हो भने नलेखिने कुराले ।’ यसमा उनका प्रायश: मुख्य निबन्ध समेटिएका छन् । ‘बिम्ब प्रतिबिम्ब’, ‘शङ्कर लामिछाने लामिछानेको दृष्टिमा’ (आत्मकथा)मा उनका प्रतिबिम्बात्मक कुरा र अनुभवहरू राखिएका छन् । प्रकाश सायमीको भावक अभियानले शङ्कर दाइ विषयका लेख, संस्मरण र समकालीनहरूका विचार राखेर संग्रहहरू निकालेको छ । अध्येताहरूको निम्ति राम्रो काम गरेको छ । सायमीको लगनशीलता र प्रेमको सराहना गर्छु । 
जर्ज अर्वेलसँगको सान्निध्यको कुरा गर्दा शङ्कर दाइका एकाध विचारहरू उद्धरण गर्नैपर्छ । ती उद्धरण भावक अभियानले छापेको ‘एब्स्ट्रयाक्ट... (२०५७)’ मा समावेश यी उद्धरणबाट म फेरि अर्वेलतिर लाग्छु । शङ्कर दाइ भन्छन्, ‘साहित्य साँच्चिकै इतिहास हो । इतिहासमा झूट धेरै हुन्छन्, ट्विस्टेड हुन्छन् । एउटा कुनै वादले छोएको हुन्छ । साहित्यिकले त्योचाहिं गर्दैन ।’ आफ्ना लेखनको भविष्यमाथि लेखकहरू निकै भावुक भएर कुरा राख्छन् । शङ्कर दाइ भन्छन्, २००७ देखि २०२५ सालसम्मको अठार वर्षको अनुभव आजभन्दा पचास वर्षपछि कसैले खोज्यो भने उनले आफूउपर लेखेका भावको अर्थ बुझ्नेछ ‘कि जस्तो लाग्छ’ । यसैको ‘अभूमिका’ मा शङ्कर दाइ स्लेटको बिम्ब प्रयोग गर्छन् । भन्छन् जन्मिदै हामी सफा स्लेट लिएर जन्मिन्छौं । पछि लेख्दै मेट्दै गर्दा यो स्वयंले बुझ्न नसक्ने अवस्थामा पुग्छ । म पश्चिमी सिद्धान्तका फ्रान्सेली मनोवैज्ञानिक झँलकँको मनोगत सिद्धान्त र उत्तरऔपनिवेशिक सिद्धान्तको ‘पालिम्पसेस्ट’ पढ्ने र पढाइ बस्ने मानिसलाई शङ्कर दाइका यी कुरा अत्यन्त वाचाल लाग्छन् । अन्तै लेख्नुपर्छ । तर पालिम्पसेस्ट भनेकोचाहिं लेखिहालुँ । यो भनेको स्लेटपाटीकै सिद्धान्त हो । हामी पहिले लेखेका कुरामाथि पछि फेरि लेख्छौं वा कागत धेरै नभएको बेला लेख्थ्यौं । इतिहासका कुरा पनि त्यस्तै हुन् जो एउटा लेखनमाथि फेरि लेखिन्छन् । हाम्रा इतिहासका स्लेट मेटिंदैनन्, तर तिनका तह बुझेर पढ्न सक्नुपर्छ । तर लेखनको शाश्वतताबारे उनी भन्छन्, ‘यसो हेरेमा भन्नु बाँकी नै छ के ? कस–कसले कत्ति राम्ररी भनेर गएनन् र ? र त्यो भनाइ टिक्यो के ?’
शङ्कर दाइका निबन्ध र केही भूमिका लेखन अनि संस्मरणहरूबाट यहाँ केही कुरा जोडेर हेर्नुपर्ने हुन्छ । उनले लेखका भूमिका वा निबन्धहरू काव्य र समीक्षाको गोधूलि हुन् । एउटा प्रसङ्ग जोडिहाल्छु । मेरो नाटक ‘सान्दाजुको महाभारत’ (२०७२) मा मैले विश्वेश्वरप्रसाद कोइराला उर्फ सान्दाजुले पारिजात र उनको काव्यिक र औपन्यासिक चरित्रमाथि बोलेको कुरा राखेको छु । त्यसमा शङ्कर लामिछानेको भूमिकाको प्रसङ्ग छ । मेरो पात्र सूत्रधार सान्दाजुसँग संवाद गर्छ । केही प्रसंग मिल्ने उद्धरणहरू छन्—
‘पारिजातको उपन्यास ‘शिरीषको फुल’ बीस सालमा नै निस्कियो । त्यो निस्केपछि सान्दाजुलाई कसैले, मैले सम्झेअनुसार पुरुषोत्तम बस्नेतले, सुन्दरीजल राजबन्दीगृहमा त्यो पुर्‍याइदिए । त्यो उपन्यास पढेर सान्दाजुले आफ्नो डायरीमा बाइस जनवरी सन् उन्नाइस सय छैसट्ठीमा लेखेको एन्ट्री ‘कल्पना’ पत्रिकामा छापेको पढेको थिएँ । त्यसमा उनले ‘शिरीषको फुल’ काव्यिक छ, औपन्यासिक कम छ भनेको कुराले मलाई छोएको थियो ।. मलाई शङ्कर लामिछाने दाइले पारिजातको किताबमा उनले लेखेको भृ्मिकाको छलफल गर्न आउनुअघि लरेन्स डरेलका अलेक्जान्ड्रिया क्वाट्रेट वा चारवटा उपन्यासको शृंखला पढेर आउनू भने । ती उपन्यासको सेटमा ‘जस्टिन’ उपन्यासलाई विशेष ध्यान दिनू भने । त्यसमा एउटी जस्टिन भन्ने नारीको दुई पुरुषसँग प्रेम छ । सकम्बरीको पुरुषहरूको संगतजस्तै तर अझ जटिल । जस्टिन भन्ने यी यहुदी नारीको व्यक्तित्वको रहस्यले पुरुषहरू हल्लिएका हुन्छन् । यो दु:खान्त कथामा जस्टिनको वरिपरि घुमेको पुरुष चेतनाका तरंगको वर्णनले मलाई खिचेको थियो ।’ मेरो शङ्कर दाइसँगको कुरा यहाँ भन्नुको खासै अर्थ छैन । तर शङ्कर दाइका निबन्धात्मक काल्पनिकीमा यी अध्ययनले प्रभाव पारेका थिए भन्ने मेरो निष्कर्ष हो । पारिजातको उपन्यासमा भूमिका लेखेपछि शङ्कर दाइ माक्र्सवादी आलोचकहरूबाट आलोचित भए । त्यसमा गोविन्द भट्ट र ताना शर्माका नाम प्रमुख रूपमा आउँछन् । एक ठाउँमा शङ्कर दाइले ताना शर्मालाई आलोचनासमेत गरेका छन् । उनको यो छोटो घटना जर्ज अर्वेलसँग केही मिल्छ । यहाँ विश्वेश्वरप्रसाद कोइरालाले ‘कल्पना’ पत्रिकामा यसो भनेको कुरा मेरो सूत्रधारले उद्धरण गरेको छ—
‘कथाको रूप अखण्ड हुन्छ । कविले तटस्थताको अभावले त्यसलाई देख्न सक्तैन । पारिजातको शैली मार्मिक र उत्कृष्ट छ । यिनका कथामा भिक्षुको जस्तै एउटै भावनाको गुम्फन छ । पारिजातले आफ्नो भाषाको जोरले मात्र यसलाई उपन्यास बनाउन सकेकी छन् ।... शङ्कर लामिछानेले भृ्मिकामा शृ्न्यवादको व्याख्या गरेका रहेछन् । विद्वतापृ्र्ण छ । मेरो विचारमा भने कथाको ‘हेतु ठीक शृ्न्यवादको विपरीत छ ।’ यस उपन्यासमा जीवनप्रति अगाध ममताको मार्मिक उल्लेख छ । सुयोगवीर जीवनप्रति उदासीन छैन । युद्धका स्मृतिले ऊ हरघडी समातिएको छ । उसले लडाइँको सिलसिलामा जीवनको सुखको स्वाधिकार र आत्मविश्वास गुमाइसकेको छ ।... त्यस्तो जीवनले टनाटन भएको कथानकलाई शृ्न्यवाद भयो भन्न मिलेन । यसरी तुलना गर्दा हामीले सकम्बरीलाई लिनुपर्छ । सकम्बरी नराम्री छ र सायद त्यसैले उसमा हीनताभाव—इन्फेरियोरिटी छ । ऊसँग नारीसुलभ प्रेमको प्यास छ । ऊ भावुक छ । यही भावुकता र हीनताभावले गर्दा उसको ट्रयाजेडी भएको हो ।’ 
माक्र्सवादीहरूले उपन्यासको पनि आलोचना गरे अनि भूमिकाको शून्यवादी आलेख भनी आलोचना गरे । तर त्यो भूमिका, सायद विश्वेश्वरप्रसाद कोइरालाले भनेजस्तो जीवनवादी विश्वासले भरिएको छ । राम्ररी हेर्नुपर्छ । शङ्कर दाइका निबन्धमा राजनीतिक चेतना जर्ज अर्वेलका निबन्धमा जस्तो प्रयोग हुँदैनन् । जर्ज अर्वेलका निबन्धहरू खास अर्थमा शङ्कर लामिछानेका जस्ता निजत्व र भावनाले लेखिएका छैनन् । अर्वेल भाषाको कृत्रिम प्रयोगमाथि सोझै प्रहार गर्छन् । भाषामा बहानाबाजी गर्ने ढाँट कुरा प्रयोग गर्ने, जीवनहीन परम्परावादी प्रयोग गर्ने, अनि भाषा र सत्यताप्रति इमानदारी नभएकाहरूलाई अर्वेलले निबन्ध मार्फत नै प्रहार गरे । उनको आलोचना आज झन् सान्दर्भिक भएको छ । त्यस्तै अर्वेलको उपन्यास ‘१९८४’ एक्काइसौं शताब्दीमा आएर झन् सान्दर्भिक भएको कुरा चाखलाग्दो छ । अर्वेलपछि पश्चिमी दर्शन र प्रतिरोधी विचारहरूमा धेरै छलफल भए । मिसेल फुकोजस्ता फ्रान्सेली दार्शनिकले शक्ति र भाषाका सिद्धान्त निकाले । अर्वेलले भाषाको अस्त्र प्रयोग गर्ने अनि त्यसको खराब प्रयोग गर्नेहरूलाई आफ्ना निबन्धमा आलोचना गरेका छन् । मिसेल फुकोले अमूक ठाउँको अमूक समयको शक्ति प्रयोग गर्नेले कसरी भाषा र अनुशासनको प्रयोग गर्छ, कसरी भाषामा लेखिने विषयलाई मोडेर शासन गर्छ र हैकम गर्छ भन्नेजस्ता सिद्धान्त निकाले । आज ती सिद्धान्त सबैथरी शक्ति र मुक्ति संकथनका विषय भएका छन् । अर्वेलले ठीक यही कुरा उनको उपन्यास र उनका निबन्धमा लेखेको कुरा धेरै वाचाल मानिएको छ । भाषालाई ठिंगुर्‍याउनेले ज्ञानमाथि नियन्त्रण गर्छ भन्ने उनले पछि देखेको दर्शन अर्वेलले पहिले नै देखेका थिए । 
नेपालमा भाषाको सिर्जनाको निम्ति प्रयोग गर्छु भन्नेले अनि लेखनमा स्वतन्त्र चिन्तन हुन्छन् भन्नेले लामिछानेका निबन्धको कुरा गर्छन । जुनसुकै अन्तर्वार्तामा जसले पनि लामिछाने मेरा प्रिय लेखक हुन् भनेको कुराले मलाई किञ्चित हाँसो उठ्थ्यो । अहिले आएर हेर्दा लामिछानेका निबन्ध मन पराउनेहरूले कमसेकम एउटा कुरामा विश्वास गर्ने रहेछन् । त्यो हो, थोरै भए पनि, सानैमा भए पनि शङ्कर लामिछानेले पाठकलाई सिर्जनशील चिन्तनको मुक्ति दिने रहेछन् । उनका त्यति थोरै निबन्ध पनि दोहोरिएर प्रयोग हुनुको पछिल्तिर त्यही चेतना छ भन्ने मेरो विश्वास छ । निबन्धले निजत्व हालेर पनि मुक्तिका कुरा लेख्छ, अनि अर्वेलको जस्तो सामाजिक र राजनीतिक चिन्ताका विषय राखेर पनि मुक्तिका कुरा लेख्छ । तर यहाँनेर हामीले केही कुरा बुझ्नैपर्ने हुने रहेछ । त्यो हो आजको युगमा लेखिने निबन्ध, प्रवन्ध वा संकथनको लक्ष्य झन्डै उस्तै हुनु । आज हामी मिडियाको युगमा छौं । मार्सल मक्लुहन्ले सन् अस्सीतिरै भने, ‘मिडिया आफ्नो सन्देश आफैं हो ।’ आज आएर त्यो सत्य सावित पनि भएको छ, र त्यसले अरू जटिल संकेत पनि देखाएको छ । अब निबन्ध र प्रबन्धले सरल चेतना, मानवमुक्तिका कुरा लेख्नुपर्छ । जस्ता निबन्ध भए पनि तिनले खोजेको कुरा मानिसको मनको मुक्ति, झूटको खेती गर्नेहरूप्रति आलोचक भएर हेर्ने तिनको सामथ्र्यको चिन्ता हो । यस अर्थमा शङ्कर लामिछाने र अर्वेलको लक्ष्य मिल्छ, त्यो हो भाषालाई मुक्त माध्यम बनाउनु । हामी निबन्ध पढ्दा काव्यपछिल्तिरको सिर्जनशील मुक्ति पढ्छौं । 

अभि प्राध्यापक सुवेदी साहित्यकार तथा कान्तिपुरका लेखक हुन् ।

Link copied successfully