घरेलु लिगमा रियल म्याड्रिड, युभेन्ट्स, म्यानचेस्टर सिटी पछिल्ला खेलमा हारेपछि युरोपेली क्लब फुटबल रोमाञ्चक बन्दै गएको छ ।
स्पेनी महारथी रियल म्याड्रिड ६ अप्रिल, २०१६ मा च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा उल्फबर्गसँग २–० ले हारेपछि अपराजित रहेको थियो ।
जिनेदिन जिदानको स्वर्णिम यात्रालाई ४० खेलमा आएर आइतबार ला लिगामा सेभियाले २–१ ले पूर्णविराम लगाइदियो । स्पेनी क्लबको कीर्तिमान यात्रा टुंगिएको तीन दिनभित्रै रियलले अर्को झट्का बेहोर्नुपर्यो । उसले सेल्टाभिगोसँग बर्नाबाउमा बुधबार कोपा डेल रे अन्तिम आठको पहिलो लेग २–१ ले गुमायो ।
रियल २६ महिनायता लगातार दुई खेलमा पहिलोपल्ट हारेको हो । यसले जिदानलाई अबका दिन सहज नभएको देखाएको छ । राफा बेनिटेजलाई विस्थापित गरेका उनको नेतृत्वमा रियलले एक वर्षभित्र युरोपेली च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकपको उपाधि जितेको थियो । उनले यो सिजन मुख्य तीन (ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे) उपाधि जित्ने योजना बनाएका छन् । तर, पछिल्ला हारले उनको बाटोलाई कठिन बनाएको छ ।
सेभियासँग हारेपनि रियल ला लिगाको ‘पोल पोजिसन’ मा यथावत् छ । चौथोपल्ट वर्षको सर्वोत्कृष्ट फुटबलर भएका क्रिस्टियानो रोनाल्डोद्वारा प्रेरित रियलले सेभियासँग १ र क्याटलन महारथी बार्सिलोनासँग २ अंकको अग्रता लिएको छ । रियलको हातमा अझै एक खेल छ तर घरेलु मैदानमा आइतबार मालागासँग ३ अंक जोड्न नसके उसलाई सेभिया र बार्साले उछिन्न सक्छन् । लियोनल मेसी, लुइस स्वारेज र नेयमरले समग्रमा तीन वर्षमै ३ सय गोल पूरा गरे पनि लुइस एनरिकेको टिम बार्सिलोनाले फेरि उस्तै गति लिन सकेको छैन । डिएगो सिमोनीको एट्लेटिको म्याड्रिड पनि सिजनको पूर्वाद्र्धमा लडखडाएको थियो र उसले बल्ल लयमा फर्कने संकेत देखाएको छ ।
गएको साता युरोपेली फुटबलमा ठूला टिमहरूका लागि सुखद रहेन । इंग्लिस प्रिमियर लिगमा हेभिवेट म्यानचेस्टर सिटीमाथि एभर्टनले ४–० को जित निकाल्यो । इटालियन सिरी ‘ए’ मा लगातार छैटौंपल्ट च्याम्पियन बन्ने दौडमा रहेको युभेन्टसलाई फियोरेन्टिनाले २–१ ले स्तब्ध पार्यो । यससँगै शीर्षस्थानमा रहेको युभेन्ट्ससँगको दूरी एएस रोमाले १ र नेपोलीले ४ अंकमा छोटयाए । फ्रान्सको लिग वानमा निसलाई पुछारको मेत्जले बराबरीमा रोकेको मौका उपयोग गर्दै मोनाको शीर्षस्थानमा उक्लियो । जाल्टन इब्राहिमोभिच म्यानचेस्टर युनाइटेड लागेपछि पीएसजीमा अहिलेसम्म उनको अभाव खट्किरहेको छ । मोनाको र नीसलाई पछ्याइरहेको पीएसजी तीन अंक अन्तरमा छ ।
गुडिसन पार्कको नतिजा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरकै सबभन्दा ठूलो हार हो । यसले सिटी उपाधि होडबाट ५ महिनाअघि नै बाहिरिएको ग्वार्डिओलाले बताए । लिगमा पाँचौं हारसँगै उनको जागिर पनि धरापमा परेको छ । उनको टिमलाई अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन पनि गाह्रो पर्न सक्छ । टोटेनहम र लिभरपुलले सनसनीपूर्ण प्रदर्शनलाई निरन्तर राखेपछि च्याम्पियन्स लिगमा चार इंग्लिस टिमको छनोटलाई भने रोमाञ्चक बनाएको छ । यसमा चेल्सीपछि टोटेहम, लिभरपुलसँगै आर्सनल र दुई म्यानचेस्टर क्लबबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
म्यानचेस्टर युनाइटेड बिहीबार सार्वजनिक गरिएको डेलोइट मनी लिगमा रियललाई ११ वर्षपछि उछिन्दै विश्वकै सबभन्दा बढी कमाउने फुटबल क्लब बन्यो । तर, जोसे मोउरिन्होले सम्हालेको युनाइटेडले ओल्ड ट्राफोर्डमा योर्गेन क्लोपको आक्रमक टिम लिभरपुलमाथि जित हात पार्न सकेन । टोटेनहमले चेल्सीको निरन्तर जितलाई १३ खेलमा रोक्दै दुई साताअघि इंग्लिस प्रिमियर लिगलाई रोमाञ्चक बनाएको थियो । चिनियाँ क्लबको पैसाको खेल र आपसी समस्याबीच स्टार फरवार्ड डिएगो कोस्टालाई बाहिरै राखे पनि एन्टोनियो कोन्टेको टिम चेल्सीले पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टरलाई सजिलै पराजित गर्यो । यसले लिगको शीर्षस्थानमा रहेको चेल्सीलाई ७ अंकको अग्रता दिलायो ।
‘विन्टर ब्रेक’ सम्म जर्मन बुन्डेस लिगा पनि रोमाञ्चक रह्यो । बायर्न म्युनिक लिपजिगमाथि जित हात पारेर बल्ल १६ औं चरणबाट शीर्षस्थानमा उक्लियो । ग्वार्डओला तीन वर्ष म्युनिकको ‘हट–सिट’ मा रहँदा जर्मन महारथीलाई उपाधि होडमा यति गाह्रो भएको थिएन । इनर्जी ड्रिंक रेडबुलको स्वामित्वमा सन् २००९ मा स्थापित क्लब लिपजिगले पहिलोपल्ट उच्च श्रेणीको जर्मन लिग खेल्दै तहल्का मच्चाइरहेको छ । जर्मनमाझ अलोकप्रिय रहेको उसले केही वर्षभित्रै बुन्डेस लिग च्याम्पियन बन्ने योजना बनाएको छ । यसले बायर्न र बोरुसिया डर्टमुन्डलाई गाह्रो पार्ने देखिएको छ ।
विगतमा बायर्नलाई चुनौती दिंदै आएको डर्टमुन्डले भने घरेलु लिगमा यो सिजन गतिलो प्रदर्शन गर्न सकेको छैन । बायर्नसँग १२ अंक पछाडि रहेको उसलाई यसपालि धनाढयहरूको खेल च्याम्पियन्स लिगमा छनोट हुन पनि गाह्रो पर्न सक्छ । २९ वर्षीय म्यानेजर जुलियन नागेल्सम्यानले सम्हालेको होफेनहम युरोपको शीर्ष ५ लिगमा हालसम्म अपराजित रहेको एक्लो क्लब हो । पछिल्लो सिजन मुस्किलले रेलिगेसन टारेको होफेनहम बुन्डेस लिगको पाँचौं स्थानमा छ । बुन्डेस लिगाको प्रतिस्पर्धा शनिबार फेरि सुरु हुँदै छ ।
दशकअघिसम्म युरोपमा धाक जमाएका इटालीमा मिलानका क्लबहरू एसी र इन्टर पछिल्ला समय च्याम्पियन्स लिगमा छनोट पनि हुन सकेका छैनन् । यसपालि पनि उनीहरूलाई सिरी ‘ए’को शीर्ष तीनमा रहन मुस्किल पर्नेछ । यी क्लबसँग पहिले विश्व फुटबलकै सुपरस्टारहरूको भीड रहन्थ्यो, अहिले ठूलो लगानी गर्न नसकेर उनीहरूले स्टार खेलाडी पनि राख्न सकेका छैनन् ।
गेबोनमा भइरहेको ‘अफ्रिका कप अफ नेसन्स’ ले पनि युरोपेली क्लबको खेललाई असर गरेको छ । लिभरपुलका साडियो माने, बोरुसिया डर्टमुन्डका पियरे–इमरेक अउबोमेयाङलगायत खेलाडी अफ्रिकी च्याम्पियन बन्ने होडमा राष्ट्रिय टिमको डयुटीमा फर्किएका छन् । उनीहरूको अनुपस्थितिले क्लबलाई समस्यामा पारेको छ । अफ्रिकाका १६ देशको प्रतियोगिता तीन साता चल्नेछ । यसले च्याम्पियन्स लिगको नकआउटको खेलमा भने असर गर्ने छैन, जुन फेब्रुअरी दोस्रो साता सुरु हुनेछ ।
