प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेको छ ।
What you should know
वीरेन्द्रनगर — कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रकिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आव्हान गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५:०० बजेभित्र मुख्यमन्त्री पदको लागी दाबी पेस गर्नको लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आव्हान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिए ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आव्हान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा पनि स्वीकृत भइसकेको छ ।
प्रदेश सभाको आज (शनिबार) बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन् । असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
उनी पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बनेका थिए भने झन्डै ४ महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा–आधा कार्यकाल भागबण्डा गरी दोस्रो पटक २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बनेका थिए ।
अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका थियो ।
तर विश्वासको मत पाउने सम्भावना नभएपछि कँडेलले मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका हुन् ।
४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना प्रदेशसभा सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
