कर्णालीमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा

स्टेशनबाट कर्णालीका उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ रूपमा उपलब्ध गराइने नेपाली सेनाले बताएको छ ।

श्रावण १०, २०८३

ज्योति कटुवाल

First Nepal Army Petrol Station Begins Operation in Karnali

सुर्खेत — कर्णाली प्रदेशमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा आएको छ । नेपाली सेना कल्याणकारी कोषको करिब ५ करोड लगानीमा सुर्खेतको वीरेन्द्रनगर ९ मंगलगढीमा निर्माण गरिएको रिपुमर्दिनी पेट्रोल स्टेशन आईतबार औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

स्टेशनको उद्घाटन श्री उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी दीपेश जंग शाहले गरेका छन् । नेपाली सेना कल्याणकारी कोषद्वारा सञ्चालित उक्त स्टेशनमा ४८ हजार लिटर पेट्रोल र ४८ हजार लिटर डिजेल गरी कूल ९६ हजार लिटर इन्धन भण्डारण गर्ने क्षमता रहेको छ । 

स्टेशनबाट कर्णालीका उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ रूपमा उपलब्ध गराइने नेपाली सेनाले बताएको छ । ‘प्राकृतिक विपद्, आपूर्ति अवरोध तथा अन्य प्रतिकूल परिस्थितिमा पनि प्रदेशमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले स्टेशन स्थापना गरिएको हो,’ पृतनापति शाहले भने, ‘देशभर नेपाली सेनाद्वारा सञ्चालित यो सातौँ पेट्रोल स्टेशन हो ।’

उनका अनुसार सरकारी निकाय, उद्योग–व्यवसाय, यातायात तथा पर्यटन क्षेत्रले भरपर्दो इन्धन सेवा पाउने र प्रदेशको इन्धन आपूर्ति व्यवस्थापन थप सुदृढ हुने अपेक्षा गरिएको छ । स्टेशन २४ घण्टामै सञ्चालन हुनेछ । यहाँबाट प्राप्त हुने आम्दानी नेपाली सेना कल्याणकारी कोषमार्फत् बहालवाला तथा भूतपूर्व सैनिक र उनीहरूका आश्रित परिवारको स्वास्थ्य, शिक्षा, रोजगारी तथा अन्य कल्याणकारी कार्यक्रमहरूमा लगानी गरिने नेपाली सेनाले जनाएको छ । उक्त स्थानमा हिमालयन बैंकले आफ्नो एटिएमबाट सेवा सुचारु गरेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully