नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमै मतदान गर्ने निर्णय गर्दै आफ्नो पूर्वअडान कायम राखेको छ।
सुर्खेत — केन्द्रमा एमाले–नेकपाबीच नयाँ समीकरण बने पनि कर्णाली प्रदेशमा त्यसको प्रभाव नपर्ने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमै मतदान गर्ने निर्णय गर्दै आफ्नो पूर्वअडान कायम राखेको छ।
बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । ‘पार्टीले यसअघि नै मुख्यमन्त्री कँडेलमाथि विश्वास नरहेको भन्दै अविश्वास प्रस्ताव दर्ता गरिसके थियो,’ उनले भने, ‘अब हामीपछि हट्ने नहट्ने निष्कर्ष पुगेका छौं ।’
केन्द्रमा एमाले–नेकपाबीच सत्ता सहकार्यको सहमति भएपछि कर्णालीको राजनीतिक समीकरण पनि बदलिन सक्ने आकलन भइरहेका बेला नेकपाको निर्णयले प्रदेशमा तत्काल सत्ता समीकरण परिवर्तन नहुने संकेत दिएको छ।गत बिहीबार नेपाली कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ । प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफल र मतदानले अब कर्णाली सरकारको टुंगो लगाउनेछ ।
