हिलाम्मे ग्रामीण सडकले यात्रुलाई सास्ती

वर्षायाम सुरु भएसँगै सल्यानका दुई दर्जनभन्दा बढी कच्ची सडक हिलाम्मे र खाल्डाखुल्डी बनेका छन्, जसले यात्रुलाई सास्ती दिएको छ।

श्रावण ३, २०८३

विप्लव महर्जन

Muddy rural roads plague travelers

What you should know

सल्यान — वर्षायाम सुरु भएसँगै सल्यानका दुई दर्जनभन्दा बढी ग्रामीण सडक हिलाम्मे, खाल्डाखुल्डी परेपछि यात्रुले सास्ती भोग्नुपरेको छ।

नाला नबनाई निर्माण गरिएका अधिकांश कच्ची सडकमा वर्षाको भेलले माटो बगाउँदा सडक जीर्ण बनेका हुन्। सडक मर्मतमा ढिलाइ हुँदा कतिपय ठाउँमा सवारी चल्नै छाडेको छ भने सञ्चालन भइरहेका सडकमा पनि दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ।

सडक अवरुद्ध भएपछि कतिपय स्थानमा यात्रु पैदल हिँड्न बाध्य छन्। हिलाम्मे सडकमा फसेका गाडी यात्रु आफैंले धकेलेर निकाल्नुपर्ने अवस्था समेत आएको छ। जिल्लाका १० वटै स्थानीय तहले निर्माण गरेका अधिकांश कच्ची सडक वर्षायाममा बिग्रँदा आवतजावतसँगै दैनिक जनजीवन प्रभावित भएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत बागचौर–पातीहाल्ना सडक निर्माणाधीन रहेकाले वर्षापछिको भेलले सडक चिराचिरा पारेको पातीहाल्नाका बेलाराम गिरीले बताए। पातीहाल्नादेखि बाफुखोला सडक पनि ठाउँ–ठाउँमा बिग्रिएकाले ट्याक्टरबाहेक अन्य सवारी चल्न छाडेको उनले बताए। 'खाल्डाखुल्डीमा गाडी पल्टिने जोखिम छ,' उनले भने, 'गाउँमा बिरामी परे उपचारका लागि बाहिर लैजानसमेत निकै कठिन भएको छ।'

बन्गाड कुपिण्डे नगरपालिका–३ को सल्लीबजार–बामे सडकखण्डको औलबेसी–पाटके क्षेत्रमा सडक हिलाम्मे हुँदा सवारी फस्ने र चिप्लिने समस्या बढेको वडाध्यक्ष धनबहादुर पुनले बताए। उनका अनुसार गाडी फस्दा यात्रुसमेत मिलेर धकेल्नुपर्ने अवस्था छ। हिलोका कारण दुईपांग्रे सवारी दुर्घटनामा पर्ने जोखिम बढेको उनले बताए ।

Muddy rural roads plague travelers

छत्रेश्वरी गाउँपालिकाको दमाचौर–झ्याम तथा दहखोला–गुराँसे सडकमा पनि नाला नहुँदा वर्षाको पानी सडकमै बगेर ठाउँ–ठाउँमा चिरा परेको स्थानीय तेजबहादुर योगीले बताए। पालिकाले डोजर लगाएर मर्मत गरे पनि निरन्तरको वर्षाले फेरि सडक बिग्रिएको उनले बताए।

कालिमाटी गाउँपालिका–६ का वडाध्यक्ष टेकराज पुलामीका अनुसार बालुवा–छरछरे सडकमा पहिरो, कटान र चिराचिरा परेपछि सातादेखि सवारी सञ्चालन ठप्प छ। त्यसयता स्थानीय सुर्खेतको मेहलकुना हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन्। 'ठूलो वर्षा भए दुवै सडक बन्द हुन्छन्,' उनले भने, 'त्यसपछि बिरामी अस्पताल लैजान, कृषि उपज बजार पुर्‍याउन र सरकारी कामकाजका लागि निकै सास्ती हुन्छ।'

कालिमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतका अनुसार खलंगा–लक्ष्मीपुर–कालिमाटी तथा लुहाम–काभ्रा–कालिमाटी सडकमा क्षति पुगेपछि आइतबारदेखि मर्मत सुरु गरिएको छ। 'बजेट अभावका कारण कच्ची सडक स्तरोन्नति गर्न सकिएको छैन,' उनले भने, 'राति बिरामी परे आधा घण्टासम्म स्ट्रेचरमा बोकेर सडकसम्म ल्याउनुपर्ने अवस्था छ।'

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले वर्षाका कारण ग्रामीण सडकमा क्षति पुगे पनि आवतजावत र कृषि उपज ढुवानी सहज बनाउन तत्काल मर्मत टोली परिचालन गरिएको बताए। उनका अनुसार नियमित वर्षा भइरहे पनि अधिकांश सडकमा सवारी सञ्चालन कायम राख्ने प्रयास भइरहेको छ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully