कर्णालीका सडक अनुगमनका क्रममा गुठिचौर पुगेका पूर्वाधारमन्त्री लम्सालले भने- ‘बर्खामै आइयो एकदम ठिक भयो । सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो । अब योजना तर्जुमा गर्न सहज हुनेछ।’
What you should know
जुम्ला — कर्णालीका सडक अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुम्ला आइपुगेका छन् । उनले आइतबार जुम्लास्थित कर्णाली राजमार्ग, नाग्मगमगडी सडक र डोल्पा जोड्ने सडक अनुगमन गरे ।
गुठिचौर पाटनमा पुगेर उनले गोठालासँग भेटघाट समेत गरेका छन् । गोठालाहरुले पक्की सडक बनाइदिन आग्रह गर्दा मन्त्री लम्सालले ढुक्क रहन आश्वास समेत दिए । उनले गुठिचौरलाई सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके आकर्षणको केन्द्र बन्नेमा जोड दिए ।
मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका भौतिक संरचनाको समेत प्रत्यक्ष अनुगमन गरेका छन् । मन्त्री लम्सालले भने, ‘कर्णालीको सबै जिल्लाको सबै सडकको अनुगमन हो । सबै सडकमा बजेट हालेको छ । हामीले हालेको बजेट पुग्यो कि पुगेन । बजेट थप गर्नुपर्छ कि भनेर कर्णालीका जिल्लाहरुमा आइपुगेका छौं ।’ चुनौतीहरु पहिचान गरेर आगामी वर्षमा थप प्रभावकारी योजना बनाउने उनले बताए ।
जुम्लामा मन्त्री लम्सालले यसअघि खारेज भइसकेको संघीय खानेपानी कार्यालय फेरि स्थापना गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘संघीय खानेपानी कार्यालय आइसक्यो । केही दिनमै काम सुरु हुन्छ ।’ पानी पर्दै कर्णाली यात्रामा निस्किएकोले कर्णालीको दुःख प्रत्यक्ष रुपमा अनुभूत गर्ने मौका मिलेको मन्त्री लम्सालले बताए । ‘बर्खामै आइयो एकदम ठिक भयो । सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो । अब योजना तर्जुमा गर्न सहज हुनेछ,’ मन्त्री लम्सालले भने ।
जुम्लामा उनले आफ्नो मन्त्रालय माताहतका कार्यालयहरुको अवस्था अवलोकन गर्नुका साथै सेवाग्राहीका समस्या समेत सुनेका थिए । मन्त्री लम्सालसँगै सांसद रमेशकुमार सापकोटा र सुशान्त वैदिक समेत सहभागी छन् । जुम्लाका स्थानीयले मन्त्री लम्साललाई कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गर्दै स्याउको माला समेत लगाइदिएका थिए । उनीहरुले बर्खाले कर्णाली राजमार्गमा निरन्तर पहिरो जाने भएकोले स्याउको निर्यातमा असहज हुने भन्दै दुई लेनको पक्की सडक बनाइदिन समेत माग गरेका थिए ।
