नयाँ राहदानी प्रणालीले काम नगर्दा डोल्पामा सेवा प्रभावित

नयाँ प्रणालीले आवेदन स्वीकार नगर्दा सेवा प्रवाह प्रभावित बनेको हो।

श्रावण १, २०८३

रामचन्द्र न्यौपाने

Services affected in Dolpa as new passport system not working

डोल्पा — राहदानी विभागले नयाँ राहदानी प्रणाली लागू गरेपछि डोल्पामा सेवा प्रभावित भएको छ। 

आवेदन फाराम सबमिट हुन नसक्दा राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय डाेल्पामा पुगेका सेवाग्राही कामै नगरी फर्किन बाध्य भएका छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पछिल्ला तीन–चार दिनदेखि राहदानी आवेदन सबमिट गर्ने क्रममा प्राविधिक समस्या देखिएको छ। 

अनलाइन प्रक्रिया पूरा गरे पनि प्रणालीले आवेदन स्वीकार नगर्दा सेवा प्रवाह प्रभावित बनेको हो।
ढकालले विभागले देशभर लागू गरेको नयाँ प्रणालीका कारण डोल्पामात्र नभई अन्य जिल्लामा समेत यस्तै समस्या देखिएको बताइन्। 'नयाँ प्रणाली कार्यान्वयनका क्रममा प्राविधिक समस्या आएको हो,' उनले भनिन्, 'विभागले समाधानको प्रयास गरिरहेकोले छिट्टै सेवा नियमित हुने अपेक्षा गरेका छौं।'

राहदानी बनाउन जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट धेरै दिनको यात्रा तय गरेर सदरमुकाम दुनै पुगेका सेवाग्राही भने सबैभन्दा बढी मारमा परेका छन्। यातायात, बसोबास र खानपानमा अतिरिक्त खर्च बेहोरेर प्रशासन कार्यालय पुगेका उनीहरू काम नभएपछि निराश हुँदै फर्किनुपरेको गुनासो गर्छन्। उपचार, वैदेशिक रोजगारी तथा अध्ययनका लागि तत्काल राहदानी आवश्यक परेकाहरू समस्या समाधानमा ढिलाइ हुँदा थप चिन्तित बनेका छन्।

साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएका कारण शुक्रबार भने जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही आएका छैनन् । प्रशासनका अनुसार प्रणालीमा देखिएको समस्या समाधान भएपछि राहदानी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिनेछ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully