शुक्रबार सुर्खेत आइपुगेका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमनबाट भ्रमण सुरु गरेका छन्।
What you should know
सुर्खेत — पूर्वाधार विकास मन्त्री सुनिल लम्साल शुक्रबार कर्णालीका प्रमुख राजमार्गको स्थलगत अनुगमनमा निस्किएका छन्।
केही साताअघि मात्रै तीन वर्षभित्र कर्णालीका जिल्ला र स्थानीय तह जोड्ने मुख्य सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका उनले सुर्खेतदेखि हुम्लासम्मका सडक आयोजनाको स्थलगत निरीक्षण सुरु गरेका हुन्।
शुक्रबार सुर्खेत आइपुगेका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमनबाट भ्रमण सुरु गरेका छन्।
प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार उनी कालीकोट हुँदै जुम्ला–कालीकोट सीमास्थित नाग्मसम्म पुग्नेछन्। त्यसपछि नाग्म–गमगढी सडकको निरीक्षण गर्दै स्थलमार्गबाट बाजुरा र त्यहाँबाट हवाईमार्ग हुँदै हुम्ला पुगेर सडक आयोजनाको अवस्था बुझ्ने कार्यक्रम छ।
मन्त्री लम्सालले गत असार ४ को प्रतिनिधिसभामा कर्णालीका मुख्य सडक तीन वर्षभित्र डबल लेनमा विस्तार गरिने घोषणा गरेका थिए। सडकका खाल्डाखुल्डी टाल्ने काम अब टालटुले नभई नियमित मर्मत प्रणालीमार्फत गरिने उनको भनाइ थियो। त्यसको कार्यान्वयनको अवस्था बुझ्न उनी स्थलगत अनुगमनमा निस्किएको मन्त्रालयले जनाएको छ।
कर्णालीका अधिकांश सडक अझै पनि जीर्ण अवस्थामा छन्। वर्षायाममा पहिरो र हिउँदमा धुलोका कारण सास्ती खेप्दै आएका स्थानीयले कर्णाली राजमार्गलाई लामो समयदेखि ‘मृत्युमार्ग’को संज्ञा दिँदै आएका छन्।
वीरेन्द्रनगरदेखि जुम्लासम्म फैलिएको २३२ किलोमिटर लामो कर्णाली राजमार्गमध्ये १३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेत र १०० किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ।
नाग्मदेखि मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सडकमा नियमित सवारी सञ्चालन भइरहेको छ। गमगढीदेखि उत्तरी चिनियाँ नाका नाक्चेनाग्लासम्म प्रस्तावित ९३ किलोमिटर सडकमध्ये १८ किलोमिटर ट्रयाक खुलिसकेको छ भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर प्रदीप नारायण चौधरीका अनुसार सडकलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माण प्रक्रिया अघि बढाइएको छ।
