कर्णाली प्रदेश अस्पतालमा ५ वर्षमा ९ जनाको सफल मिर्गौला प्रत्यारोपण

प्रदेश अस्पतालले काठमाडौंको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग २०७८ चैत १० मा मिर्गौला प्रत्यारोपणको सम्झौता गरेको थियो ।

श्रावण १, २०८३

तृप्ति शाही

9 successful kidney transplants in 5 years at Karnali Provincial Hospital

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेश अस्पताल सुर्खेतले अहिलेसम्म ९ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । सेवा सुरु भएको ५ वर्षको अवधिमा अस्पतालले ९ जनाको सफल रुपमा मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ । 

अस्पतालले काठमाडौंको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग २०७८ चैत १० मा मिर्गौला प्रत्यारोपणको सम्झौता गरेको थियो । सोही अनुरूप मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएको छ । 

पछिल्लो पटक गत असार २३ मा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ का शिवराज गुइँदेल र कञ्चनपुरको बेलौरी नगरपालिका–५ का अजय चौधरीको सफल मिर्गौला प्रत्यारोपण गरेको अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीले जनाकारी दिइन् ।

प्रत्यारोपणमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सक डा. दिपेश श्रेष्ठ, डा. शोभित थापा, डा. रुवसनाथ योगी, डा. रोजन अधिकारीलगायतको टिम सहभागी भएको थियो । 

बर्सेनि मिर्गौला प्रत्यारोपणको काम सफल भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले यो सेवामा काम गर्नको लागि पढाइका लागि पठाएका एक चिकित्सक पढेर काममा फर्किसकेका छन् भने अर्का भदौमा पढाइ सकेर फर्किन् तयारीमा छन् । अब अस्पतालले मृर्गौलाको ओपिडी सेवा पनि सञ्चालन गर्ने तयारी गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताइन् । 

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल भइरहेको बताउँदै मिर्गौला प्रत्यारोपणमा संलग्न प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक डा. विकास खड्काले पछिल्लो पटक असार २३ गरिएको मिर्गौला प्रत्यारोपणमा धेरैजसो प्रदेश अस्पतालकै जनशक्ति खटिएको बताए । 

विगतमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रत्यारोपणका लागि ३० जनाको टोली आउने गरेकोमा यस पटक ७ जना मात्रै आएको र बाँकी सबै प्रदेश अस्पतालकै जनशक्ति खटिएको उनले बताए । 

मिर्गौला प्रत्यारोपणमा सफलता पाएसँगै अस्पतालले सम्बन्धित जनशक्ति तयार गरिरहेको प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले बताए । प्रदेश अस्पतालमै मिर्गौला प्रत्यारोपण हुँदा बिरामीलाई आर्थिक भारमा कमी आएको उनले बताए । यसको प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ थियो ।

मिर्गौला प्रत्यारोपण गरेका बिरामी शिवराज गुइँदेलकी श्रीमती रिता परियारले उपचारमा पटक–पटक भारत र काठमाडौं गएको तर अन्त्यमा प्रत्यारोपण गृहजिल्ला सुर्खेतमा गर्न पाएको बताइन् । निःशुल्क उपचार पाएकोले ठूलो राहत भएको उनले सुनाइन् । 

कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि प्रतिबिरामी ३ लाख रुपैयाँ दिने गर्दछ । अस्पतालमा विशेषज्ञ चिकित्सक डा. विकास खड्काका अनुसार मिर्गौला प्रत्यारोण महँगो पर्दछ । प्रत्यारोपणका लागि मात्रै कम्तीमा ८ देखि १० लाख रुपैयाँ लाग्छ ।   

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully