पर्याप्त वर्षात नभएपछि रोपाइँका लागि जोतेर ठिक्क पारेका खेत धुलो उड्ने भएका छन्।
सल्यान — असारसम्म सल्यानको ८० प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । सिँचाइ सुविधा नभएका जिल्लाको विभिन्न स्थानमा पर्याप्त वर्षा नभएपछि अहिलेसम्म रोपाइँ हुन नसकेको हो ।
बन्गाड कुपिण्डे नगरपालिकाको बन्गाड खोला आसपासका खेत, कुमाख गाउँपालिकाको देवल, शारदा नगरपालिकाको सुकेखोला, पेदीखोला, कपुरकोट र कालीमाटी गाउँपालिकाको केही स्थानमा रहेका खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको हो ।
पर्याप्त वर्षात नभएपछि रोपाइँका लागि जोतेर ठिक्क पारेका खेत धुलो उड्ने भएका छन्। किसानले खेतमा राखेको धानको ब्याड छिप्पिसकेका छन् । रोपो हुर्किसक्ने बेलासम्म रोपाइँ गर्न नपाएपछि ब्याड खेर जाने भन्दै किसान चिन्तित भएका छन् ।
बन्गाड कुपिण्डे नगरपालिकाको बन्गाड खोला आसपासमा तीन रोपनी भन्दा बढी खेत भएका कृतिबहादुर रानाले खडेरीले सुकेका मुहानमा पानी नफुट्दा रोपइँ गर्न नपाएको बताए । ‘बन्गाड खोलाको मुहानतिर रोपाइँ गरेकाले पानी खेतमा लगाएका छन् । पानी बग्न नपाएपछि खोला सुक्खा छ, कसरी रोपाइँ गर्ने,’ उनले भने ‘जोतेर ठिक्क पारेका खेत धुलो मात्रै उड्ने भएका छन् ।’
ढिलोगरी भित्रिएको मनसुनमा पनि पर्याप्त पानी नपरेपछि असारसम्म पनि रोपाइँको तयारी गर्न नपाएको शारदा नगरपालिका ३ सुकेखोलामा चार रोपनी खेत भएका शारदा नगरपालिका ५ का स्थानीय नेवबहादुर बिष्टले बताए । ‘ब्याड हुर्किसकेको छ खेत जोतेर ठिक्क छ, तर पानी नपरेर रोप्न पाएको छैन । सिँचाइका लागि कुलो गतिलो छैन । झरी नलाग्दासम्म रोपाइँ गर्न पाइएला जस्तो छैन,’ उनले भने ‘गत वर्ष पनि समयमा पानी नपरेर ब्याड खेर गएको थियो । यसपाली पनि चिन्ता नै छ ।’ ४ रोपनी खेतमा फल्ने १२ मुरी धानले ५ जनाको परिवारलाई ४ महिना सजिलै पुग्ने उनी रोपाइँ गर्न नपाएर गत वर्षजस्तै चामल किन्नु पर्ने चिन्तामा छन् ।
कुमाख गाउँपालिकाको देवलका कर्णबहादुर रावतले गाउँमा आफ्नो मात्र नभई सबैलाई रोपाइँ गर्न समस्या भएको बताए । गत वर्षसम्म असार तेस्रो सातामै रोपाइँ सकिएको उनको गाउँमा यसपाली झरीको पखाइमा छन् । कुलोमा पर्याप्त पानी नभएकाले रोपाइँको लागि सातासम्म कुर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न स्थानमा रहेका ८ सय ८९ हेक्टर खेतमध्ये पर्याप्त वर्षात नभएका कारण ५० प्रतिशतमा रोपाइँ हुन नसकेको बन्गाड कुपिण्डे नगरपालिकाका कृषि प्राविधिक कमल बोहराले बताए । बन्गाडमा खेत भएका स्थानदेखि करिब ५ सय मिटर तल भेरी नदी भए पनि पानी तान्ने सुविधा नहुँदा आकाश हेरेर बस्नुपरेको उनले बताए ।
कुमाख गाउँपालिकाका कृषि शाखा प्रमुख सुरोज कुँवरले जेठदेखि असारको दोस्रो सातासम्म परेको खडेरीले यसपाली कुमाखका विभिन्न ज्युलामा रोपाइँ ढिला भएको बताए । पालिकाभित्र ३० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको उनले बताए ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले ढिलोगरी भएको वर्षात पनि पर्याप्त नहुँदा असार सकिँदासम्म जिल्लाभर ६ हजार ५९ हेक्टर खेतमध्ये ८० प्रतिशतमा रोपाइँ हुन नसकेको बताए ।
