१ सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डका विभिन्न १३ स्थानमा पुल निर्माणका लागि भेरी करिडोर आयोजना कार्यालयले ठेक्का आह्वान गरेको छ।
डोल्पा — बर्खायाम लागेसँगै खोलानालाको भेलले सडक सम्पर्क अवरुद्ध हुने भेरी करिडोरमा अब पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको छ। १ सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डका विभिन्न १३ स्थानमा पुल निर्माणका लागि भेरी करिडोर आयोजना कार्यालयले ठेक्का आह्वान गरेको छ।
आयोजनाका अनुसार जाजरकोट, रुकुम पश्चिम र डोल्पाका प्रमुख खोला तथा नदीहरूमा पुल निर्माण गरिनेछ। ठेक्का आह्वान गरिएका पुलमध्ये जाजरकोटको खहरे खोला, रुकुम पश्चिमका चिसापानी, घट्टेखोला, रिजीगाड, उसुम खोला र मनका खोला तथा डोल्पाका करवगाड, चुगाड, गल्लीगाड, रूपगाड, खार खोला र त्रिपुराकोटस्थित भेरी नदीमा पुल निर्माण हुनेछन्। यस्तै दुनै–काइके सडकखण्डमा जैरिगाड जलविद्युत् आयोजनाको पावर हाउस नजिक ठूलीभेरी नदीमा पनि पक्की पुल निर्माण गरिने भएको छ।
भेरी करिडोर आयोजना प्रमुख नरेशप्रसाद केशरीले पुल निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चित भएपछि प्रक्रिया अगाडि बढाइएको बताए। उनका अनुसार सडक सञ्चालनमा सबैभन्दा ठूलो बाधक बनेका खोलानालामा अब क्रमिक रूपमा पुल निर्माण गरिनेछ।
जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक निर्माण सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि पुल अभावले करिडोरको पूर्ण उपयोग हुन सकेको छैन। विशेष गरी वर्षायाममा खोलाको बहाव बढेपछि सवारीसाधन सञ्चालन रोकिँदै आएको छ भने यात्रुहरू जोखिम मोलेर खोला तर्न बाध्य हुँदै आएका छन्।
२०७५ सालमै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको डोल्पाले अझै पनि सहज सडक यातायातको अनुभूति गर्न पाएको छैन। पुल अभावसँगै माथिल्लो डोल्पा जोड्ने धो–तिन्जे–मरिम सडक निर्माण अधुरो रहनु र दुनै–लासिक्याप सडकखण्डमा देखिएको ढिलासुस्तीले करिडोरको स्तरोन्नतिमा चुनौती थपेको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पक्की पुल निर्माण सुरु हुनु करिडोरका लागि महत्त्वपूर्ण उपलब्धि हो। पुल बनेपछि वर्षौँदेखि दोहोरिँदै आएको वर्षायामको यातायात समस्या स्थायी रूपमा हट्ने अपेक्षा गरिएको उनले बताइन्।
भेरी करिडोरलाई डोल्पाको विकास र सम्भावित त्रिदेशीय व्यापारसँग जोडिएको रणनीतिक सडकका रूपमा लिइन्छ। पुल निर्माणसँगै करिडोरलाई वर्षभरि सञ्चालनयोग्य बनाउने सरकारी प्रयासले गति लिएको छ।
