चिकित्सक नहुँदा सल्यान अस्पतालमा रोकियो शल्यक्रिया सेवा

शल्यक्रिया सेवा रोकिएपछि सल्यानका विभिन्न पालिकाका स्वास्थ्य संस्थाबाट जिल्ला अस्पताल पठाएका विरामी नेपालगन्ज, सुर्खेत, दाङ जान थालेका छन् ।

असार ३०, २०८३

विप्लव महर्जन

Surgery services at Salyan Hospital suspended due to lack of doctors

सल्यान — जिल्ला अस्पताल सल्यानले दिँदै आएको शल्यक्रिया सेवा शनिवारदेखि रोकिएको छ । निम साइमन इन्सिच्यूट (एनएसआई)बाट जेठ र असार गरी दुई महिनाका लागि आएका एमडिजिपी विशेषज्ञ चिकित्सक डा. रहिश कोजु र मेडिकल अधिकृत डा. सुमन यादवको काज अवधि सकिएसँगै जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया सेवा रोकिएको हो । 

उनीहरु दुवै जना फर्किएपछि विशेषज्ञ तथा तालिम प्राप्त चिकित्सको अभावमा रोकिएको हो । एनएसआईले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत एक दशकदेखि विशेषज्ञ चिकित्सक पठाएपछि जिल्ला अस्पतालले जटिल समस्या भएका गर्भवती महिलाको शल्यक्रिया गर्दै आएको थियो । पछिल्लो समयमा एमडिजिपी डा. कोजु र यादव आएपछि एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, हाडजोर्नी  भाचिएकाको पनि शल्यक्रिया हुने गरेको थियो ।  

शल्यक्रिया सेवा रोकिएपछि सेवाग्राही प्रभावित भएका छन् । सबैभन्दा बढी जटिल समस्या भएका गर्भवती समस्यामा परेका छन् । सेवा रोकिएपछि अहिले धेरै रकम खर्च गरेर शल्यक्रियाका लागि दाङ, सुर्खेत, नेपालगन्ज जान बाध्य छन् ।  

सोमबार स्वास्थ्य चौकीले शल्यक्रियाका लागि जिल्ला अस्पताल रिफर गरेकी २५ वर्षीया बुहारी निर्मला बुढालाई बीच बाटोबाटै फर्काएर प्रादेशिक अस्पताल तुलसीपुर लग्नु परेको कालीमाटी गाउँपालिका १ की पूर्णिमा बुढाले बताइन् । ‘जिल्ला अस्पताल आउँदा एम्बुलेन्समा जम्मा १ हजार मात्र भाडा लाग्ने थियो । तुलसीपुर लग्दा ८ हजार खर्च लाग्यो,’ उनले भनिन्, ‘आधा बाटो पुगेर मात्रै जिल्लामा अपरेशन रोकिएको थाहा पाएर फर्किनुपर्‍यो ।’  

बन्गाड कुपिण्डे नगरपालिका ९ का पिमलाल नेपालीले १० वर्षका छोराको हाइड्रोसिलको शल्यक्रियाका लागि नेपालगन्ज तथा सुर्खेत लैजानु पर्ने भएपछि पैसा जुटाउन हम्मे हम्मे परेको बताए । ‘खर्च नभएर समयमै छोराको उपचार गराउन सकेको थिइन । जिल्ला अस्पतालमा ३/४ हजारमै अपरेशन हुन्छ भन्ने आशमा थिए, अब टाढा लैजान खर्च खोज्नुपर्ने भयो ।’ 

एनएसआईले १० वर्षदेखि जिल्ला अस्पताल सल्यानमा लागु गरेको कार्यक्रम असारमा सकिएको र दुई महिनाका लागि काजमा आएका डा. कोजु र डा. यादव काज सकिएर फर्किएपछि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया सेवा रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले बताए । 
विशेषज्ञ चिकित्सकका लागि कर्णाली प्रदेश र संघीय सरकारसँग माग गरे पनि तत्काल पठाउने सम्भावना नदेखिएपछि अन्यौल भएको उनले जानकारी दिए ।

उनका अनुसार शल्यक्रिया सेवा रोकिँदा तीन जनालाई अस्पतालबाट रिफर भइसकेका छन् । सेवा रोकिएपछि जिल्लाको विभिन्न पालिकाका स्वास्थ्यसंस्थाबाट जिल्ला अस्पताल पठाएका विरामी नेपालगन्ज, सुर्खेत, दाङ जान थालेका छन् ।

जिल्ला अस्पतालमा एक महिनामा १० देखि १२ जना जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो एक महिनामा हर्निया, एपेन्डिक्स, हाडजोर्नी र हाइड्रोसिलको समस्या भएका ६ जनाको शल्यक्रिया भएको उनले बताए । २०४४ सालमा स्थापना भएको १५ शय्याको अस्पताल ४० बेड राखेर संचालन भइरहेको छ । अस्पतालमा दैनिक १ सय ५० जनासम्म विरामी आउने गरेका छन् । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully