पाटनमा यार्सा पाउनै मुस्किल, घर फर्किँदै संकलक 

बर्सेनि यार्सा उत्पादन घट्दा स्थानीय बासिन्दालाई जीविकोपार्जनको चिन्ता 

असार २९, २०८३

कृष्णप्रसाद गौतम

Yarsagumba hard to find in Patan, collectors returning home

सुर्खेत — मुगुको खत्याड गाउँपालिका-३ का ६२ वर्षीय दुर्गबहादुर बुढा यार्सागुम्बा संकलन गर्न मुगमकार्मारोङ गाउँपालिकाका विभिन्न पाटनमा जान थालेको झन्डै दुई दशक नाघ्यो । यस वर्ष पनि जेठ पहिलो साता उनी पत्नी शान्ति, छोराहरू गोविन्द र प्रकाशसँगै यार्सा टिप्न ठूलो कोइकी पाटन गएका थिए ।

तीन दिन हिँडेर झन्डै ५० हजार रुपैयाँको बन्दोबस्तीको सामानसहित पाटन पुगेका उनको परिवारले दुई साताको अवधिमा २ सय १० भन्दा बढी यार्सा पाउन सकेन । त्यही यार्सा प्रतिगोटा हजार रुपैयाँका दरले पाटनमै बिक्री गरेर उनीहरू असार पहिलो साता नै गाउँ फर्किएका छन् ।

‘अनकन्टार भीरपाखा छिचोल्दै ज्यानको बाजी राखेर पाटन पुगियो, चार जनाले १४/१५ दिन खोज्दा पनि दिनमा १२/१५ वटाभन्दा बढी यार्सा पाउन सकेनौँ,’ उनले भने, ‘खर्च बढ्दै गयो, दिनभर पाटनमा डुले पनि यार्सा पाउन मुस्किल भएपछि असार पहिलो साता नै गाउँ फर्कियौं ।’ पाटनको खर्च कटाएर एक लाख रुपैयाँ कमाउन पनि मुस्किल भएको उनले बताए । गत वर्ष यार्साबाटै साढे ३ लाख रुपैयाँ कमाएको उनको परिवारले त्यसभन्दा अघिल्लो वर्ष २ लाख ५० हजार रुपैयाँ कमाएको थियो ।

उनका छिमेकी पदमबहादुर बुढा पनि पत्नी पवित्रासहित दुई साता पाटन बसे । झन्डै २५ हजार रुपैयाँ खर्चिएर पाटन पुगेका बुढा दम्पतीले १ सय २० वटा यार्सा संकलन गरे । ‘कुनै दिन त एउटा यार्सा पनि नपाइने, पाइएको दिन बढीमा ८/१० वटा मात्र पाइने,’ उनले भने, ‘सबै संकलक फर्किन थालेपछि घरतिर आयौं ।’

चिसो लागेर पवित्रा त एक साता पाटनमै थला परिन् । ‘माथि भीरैभीर तल कर्णाली नदी, त्यस्तो ठाउँमा हिउँ पन्छाएर बाटो बनाउँदै पाटन त पुगियो,’ उनले भने, ‘ एक त उत्पादनै कम थियो, त्यसमा पनि पोटिलो यार्सा नभेटिने, त्यसैले घर छिट्टै घर फर्किनुको विकल्पै भएन ।’ गत वर्ष उनीहरूले यार्सा टिपेर २ लाख कमाएका थिए भने यो वर्ष मुस्किलले ८० हजार रुपैयाँ बचेको उनले गुनासो गरे । यार्सा संकलनबाट जीविकोपार्जन गर्न मुस्किल भएपछि दुई वर्षदेखि उनले दुई छोरासहित बुहारीलाई मजदुरीका लागि भारत पठाउन थालेका छन् ।

यो वर्ष मुगुमकार्मारोङका कोइकी, चाकु, हाड्दाङ, चेस्टु, रोमन पटान, केले, छुल्दुर, टेड्डिङ, याम्जालगायत पाटनमा झन्डै ४ हजार जना संकलक प्रवेश गरेको गाउँपालिकाले जनाएको छ । उनीहरूबाट झन्डै २८ लाख रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका सूचना अधिकारी सोबेन्द्र मल्लले बताए । ‘यसपालि यार्सा पाइएन भन्दै झन्डै ७० प्रतिशत संकलक फर्किइसकेका छन्,’ उनले भने, ‘अब त्यहाँ एक हजारदेखि १२ सयजति संकलक होलान्, उनीहरू पनि फर्किने तयारीमा छन् ।’

संकलकबाट ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म प्रवेश शुल्क लिइएको उनले जानकारी दिए । उनका अनुसार पाटनमा संकलकहरूले स्थानीय व्यापारीलाई प्रतिगोटा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा यार्सा बिक्री गरेका थिए । यो वर्ष पाटनमा प्रतिकिलो १६ लाखदेखि १८ लाख रुपैयाँसम्ममा यार्सा बिक्री हुने उनको अनुमान छ । 

पाटनमा संकलकबाट स्थानीय व्यापारीले प्रतिगोटाका दरले यार्सा खरिद गर्छन् भने सिजन सकिने बेला बाहिरबाट थोक व्यापारी गएर स्थानीय व्यापारीबाट प्रतिकिलोका दरले यार्सा खरिद गर्ने गरेका छन् । गत वर्ष मुगमकार्मारोङबाट १ सय ७ किलो यार्सागुम्बाको छोडपूर्जी जारी भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष कुनै पनि व्यापारीले छोडपूर्जी लिएका छैनन् । 

अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा मुगमकार्मारोङ गाउँपालिकाभरि वर्षमा एक बाली उवा मात्र फल्छ । जसका कारण स्थानीय उत्पादनले कसैलाई पनि ३ महिनाभन्दा बढी नपुग्ने मुगमकार्मारोङ-३ का टासी लामाले बताए । ‘हाम्रो त मुख्य पेशा नै यार्सा संकलन हो,’ उनले भने, ‘यार्सा नपाइए वर्षभरिको परिवारको खर्चको जोहो गर्न मुस्किल हुन्छ ।’ झन्डै एक दशकदेखि पाटन जाने उनी यस वर्ष भने बिरामी भएकाले यार्सा टिप्न पाटन जान पाएनन् । उनको बुवाआमासहित दाजुभाउजू भने पाटन पुगेका छन् । ‘अहिले त कसैले पनि यार्सा नै पाइएन भन्छन्,’ उनले भने, ‘बुवाआमाले अब एक सातापछि फर्कन्छु भनेर खबर पठाएका छन् ।’ उनीहरूले झन्डै २ सय ५० यार्सा टिपेको आफूले जानकारी पाएका उनले बताए । 

डोल्पाका रुपपाटन, चिनाराङ्सी, माझडाँडा, माझधारी, बाटुलीले, काँडा, फुर्के, ज्ञाने, जैरीलगायत २१ वटा पाटनहरूमा यो वर्ष ६ हजार २ सय ५ जना यार्सा संकलक पुगेका शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । जसबाट १ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दासँग ५ सय, जिल्लावासीसँग २ हजार र जिल्लाबाहिरका संकलकसँग ३ हजार रुपैयाॅ प्रवेश शुल्क संकलन गरेको थियो । निकुञ्जका अनुसार अहिलेसम्म झन्डै २ हजार यार्सा संकलक फर्किइसकेका छन् । फर्किएका संकलकहरूले यार्सा नै नपाइएको बताएको निकुञ्जका निमित्त संरक्षण अधिकृत विज्ञान सेन वलीले बताए । ‘गत वर्षभन्दा कम उत्पादन भएको हाम्रो अनुमान छ,’ उनले भने, ‘सिजन सकिएपछि सबै कुरा थाहा होला ।’ उनका अनुसार गत वर्ष १ सय ५० किलो यार्सागुम्बाको छोडपूर्जी जारी भएको थियो । एक किलो यार्सा छोडपूर्जीवापत ३१ हजार रुपैयाँ राजस्व संकलन गर्ने गरिएको निकुञ्जले जनाएको छ । यो वर्ष अहिलेसम्म साढे २० किलोको छोडपूर्जी जारी भएको उनले जानकारी दिए । 

डोल्पामा साईकुमारी, बोकेपानी, थांगे, हेम्पा, बनडाँडा र खानीखोला राष्ट्रिय वनमा पनि यार्सा संकलन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । गत वर्ष कार्यालयमार्फत १ सय ९२ किलो यार्साको छोडपूर्जी जारी भएको थियो । ‘प्रवेश शुल्कवापत केही रकम सामुदायिक वनहरुले लिने गरेका छन्,’ डिभिजन वन अधिकृत जितेन्द्र महतले भने, ‘हामीले व्यापारीले जिल्लाबाहिर यार्सागुम्बा लैजाँदा छोडपूर्जी जारी गर्ने गरेका छौं ।’ यो वर्ष कुनै पनि व्यापारी छोडपूर्जी लिन नआएको उनले जानकारी दिए । 

डोल्पाका पाटनबाट एक साताअघि फर्किएका जाजरकोटको नलगाड नगरपालिका-३ का चन्द्रबहादुर महरले यस वर्ष यार्साको उत्पादन कम भएको बताए । ‘जाँदाआउँदाको दुःखको त कुरै नगरौँ, पाटन पुग्दा लेक लाग्ने, भीरबाट खस्ने र बिरामी हुनेलगायत जोखिम मोलेर ज्यानकै बाजी थापेर भीरपहारामा रातारात हिँड्नुपर्छ,’ उनले भने, ‘यो पालि पाटनमा यार्सा पनि कम फल्यो, त्यसमा पनि भाउ पाउन पनि गाह्रो, पोहोरपरार त कम्तीमा डेढ महिनासम्म पाटनमा बस्थ्यौँ, यस वर्ष भाग्यले पनि साथ नदिएपछि २ हप्तामै फर्कनुको विकल्प भएन ।’

उनी उनी जेठ अन्तिम साता पत्नी विन्दु र १९ वर्षीय छोरा हर्कबहादुरसहित यार्सा टिप्न डोल्पाको बाउलीकाड पाटन पुगेका थिए । झन्डै ३० हजार रुपैयाँको बन्दोबस्तीको सामान जुटाएर पाटन पुगेका उनको परिवारका ३ सदस्यले मुस्किलले ८० हजार रुपैयाँको यार्सा टिपेका थिए । उनका अनुसार पाटनमा ७ सयदेखि १ हजार रुपैयाँ प्रतिगोटा यार्सा बिक्री भएको थियो ।

अनुकूल वर्षा नहुनु, मानवीय गतिविधिका कारण प्रजनन् क्षमतामा कमी, जलवायु परिवर्तनको प्रभावलगायत कारण यार्साको उत्पादन कम भएको डिभिजन वन अधिकृत महतले बताए । उनका अनुसार यस वर्ष ढुसी लागेको यार्सा धेरै पाइएकाले व्यापारीले किन्न नमानेको संकलकको गुनासो छ ।

उत्पादनसँगै बर्सेनि यार्साको भाउ घटिरहेको डोल्पाको छार्काताङसोङका व्यापारी परबल लामाले बताए । उनका अनुसार अघिल्लो वर्ष २७ लाख रुपैयाँ प्रतिकिलो बिक्री भएको यार्सा गत वर्ष २४ लाख रुपैयाँमा बिक्री भएको थियो । ‘यो वर्ष बढी गुणस्तरको यार्सा पाइएको छैन, त्यसैले भाउ घट्ने अनुमान छ,’ उनले भने, ‘चीनमा सोझै लगरे बेच्न पाए बढी भाउ पाइन्थ्यो, काठमाडौंमा आएका व्यापारीले जति भने त्यतिमा दिनुपर्ने हाम्रो बाध्यता छ ।’ 

प्रदेश प्रहरी कार्यालका अनुसार यो वर्ष डोल्पामा २ र मुगुमा २ गरी ४ जना यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ । पाटनमा लेक लागेका झण्डै ५० जनाको स्वयम्सेवक र सुरक्षाकर्मीमार्फत उद्धार गरिएको कार्यालयको तथ्यांक छ । कठिन भूगोल, अत्यधिक हिमपात, असावधानी, मौसम अनुकूल नहुनुलगायत कारण यार्सा संकलकहरुको ज्यान बर्सेनि जोखिममा पर्ने गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । 

गत वर्ष ९ सय ४१ किलो यार्सागुम्बा बाहिर गएको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । निर्देशनालयका अनुसार अघिल्लो वर्ष १ हजार २ सय, आर्थिक वर्ष २०८०/८१ मा १ हजार ९ सय किलो यार्सागुम्बाको उत्पादन भएको थियो । जबकि २०७४/७५ मा २ हजार १ सय ६९ र आर्थिक वर्ष २०७५/७६ मा २ हजार ४ सय १४ किलो यार्सा बाहिर गएको निर्देशनालयले जनाएको छ ।

कोरोना महामारीको बेला झन्डै ३ वर्ष कर्णालीमा यार्सा संकलन बन्द गरिएको थियो । लगातार ३ वर्ष यार्सा नटिप्दा पनि त्यसको असर प्रजनन् प्रक्रियामा परेको वनस्पतिविद् वेदप्रकाश शर्माले बताए । उनका अनुसार अनुकूल वर्षा नहुनु, मानवीय गतिविधि बढ्नु, वनविनास, जलवायु परिवर्तनको प्रभाव, आगलागीलगायतकारण पनि यार्सालगायत जडिबुटीको उत्पादन घटिरहेको छ । 

कर्णालीका हिमाली र पहाडी जिल्लाका अधिकांश बासिन्दा कृषि उत्पादन कम हुँदा र उपयुक्त रोजगारी नहुँदा यार्सालगायत जडिबुटी संकलन गरी जीविकोपार्जन गर्न बाध्य छन् । ‘जडिबुटीबाट आम्दानी नभए त घरर्खको जोहो गर्न भारतमा मजदुरी गर्न जानुको विकल्प छैन,’ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ का लंकबहादुर रोकायाले भने, ‘आयआर्जनको अरु माध्यम पनि छैन, त्यसैले वर्षभरि केही न केही जडिबुटी खोज्छौ ।’ उनका अनुसार जेठ-असारमा यार्सा टिप्ने उनले अरु समयमा कटुको, पाँचऔंले, समयो, घुच्ची च्याउ, पदमचाल, लटे चुक, भुत्ले, सतुवा, अतिस, सुनजरी, सेतक चिनीलगायत जडिबुटी संकलन गर्ने गरेको जानकारी दिए । उनका अनुसार हिमपातको मौसमबाहेक अरु समयमा कुनै न कुनै जडिबुटी संकलन भइरहेको हुन्छ । 

कर्णाली प्रदेशका बासिन्दाको मुख्य आयस्रोत नै जडिबुटी संकलन भएकाले प्रादेशिक अर्थतन्त्रलाई सबल बनाउन र प्रदेशको समृद्धिका लागि जडिबुटीको संरक्षण र बजारीकरण आवश्यक रहेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले बताए । उनका अनुसार यार्सा संरक्षणका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । उनले जडिबुटी र पर्यटनको माध्यमबाट रोजगारीको सिर्जना, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र प्रादेशिक आर्थिक विकास र समुन्नतिका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully