दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेटाडा क्षेत्रमा भएको उक्त दुर्घटनामा हालसम्म चार जनाको शव फेला परेको छ ।
सुर्खेत — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेटाडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछाममा फेला परेको छ।
शनिबार बिहान अछामको तुर्माखाँद गाउँपालिका–२, जबुगडास्थित लामगडाको कर्णाली नदी किनारमा पानीमा शव देखिएको भन्दै स्थानीय दीपेशबहादुर शाहीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि रहफ प्रहरी चौकी, अछाम, प्रहरी चौकी डाँडाछाप्रे तथा इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे घटनास्थलमा गरिएको अनुसन्धानबाट शव सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँ निवासी करिब ३० वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको हो । उनको पहिचान बुबा डण्डपाणि सुवेदीले गरेका हुन् ।
प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सुर्खेत ल्याउने तयारी गरेको जनाएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेटाडा क्षेत्रमा भएको उक्त दुर्घटनामा हालसम्म चार जनाको शव फेला परेको छ । दुर्घटनाग्रस्त गाडी र अझै बेपत्ता रहेका अन्य व्यक्तिको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कर्णाली नदीमा निरन्तर जारी राखेको छ ।
