महाबै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित बनेका छन् भने दोषीलाई कडा कारवाहीको माग गर्दै सेवा बन्द गरिएको छ ।
What you should know
कालीकोट — पेस्की नपाएको भन्दै महाबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपिट भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणबापतको भुक्तानी नदिएको भन्दै निर्माण ब्यवसायीका प्रतिनिधि महाबै–४ का ३१ वर्षीय यज्ञराज शाहीले शुक्रबार बिहान ८ बजेतरि प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपिट गरेका हुन् ।
सर्भर नचलेर भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । बिहीबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपिट गरेको डिएसपी खत्रीले बताए । कुटपिट गरेर भागेका शाहीलाई प्रहरीले फेला पार्न नसकेको उनले बताए ।
गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ठेकेदारका प्रतिनिधिलाई कारवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ती निकालेका छन् ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, उपाध्यक्ष दानसिंह सेजुवाल, सबै वडाका अध्यक्षसहित कार्यपालिका सदस्यले हस्ताक्षर गरेको विज्ञप्तीमा अनावश्यक विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्नु निन्दनीय कार्यभन्दै दोषीलाई कारवाही गर्नुपर्ने माग गरिएको छ । ‘असार मसान्तमा भुक्तानीका सम्पूर्ण काम सानदाररुपमा सकेर आफ्नो कोठामा आराम गरिरहेका कार्यालय प्रमुखमाथिको आक्रमण निन्दनीय छ’ विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु पनि प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्नेलाई कडा कारवाहीको माग गर्दै सम्पूण सेवा बन्द गरेर आन्दोलित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत कोइराला गाउँमा असुरक्षित भएको जनाउँदै शुक्रबार बिहान महाबैबाट सदरमुकाम मान्म हिँडेका छन् । सदरमुकाम मान्मबाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा पर्ने पर्ने महाबै सडक सञ्जालसँग जोडिन नसकेको गाउँपालिका हो । सेरावाडासम्म कर्णाली राजमार्ग हुँदै गएर पैदल २ घण्टा हिँडेपछि गाउँपालिकाको केन्द्र पादमघाट पुगिन्छ ।
गाउँपालिकाका प्राविधिक अक्कलबहादुर शाहीका अनुसार महाबै गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि ०८४ असार १० मा सम्पन्न गर्ने गरी दैलेखको दुल्लु नगरपालिका १० को अविनाश आशिष पूर्ण जेभीसँग ५ करोड ५१ लाख ८४ हजार रुपैयाँमा सम्झौता गरेकोमा ठेकेदार कम्पनीले १ करोड १० लाख पेस्की माग गरेको थियो ।
ठेक्का अनुसारको रकम स्थानीय पूर्वाधार विकास विभाग (डाेलिडार)ले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बेहोर्ने प्राबधान छ । गाउँपालिकाले आफ्नो हिस्साबाट दिन मिल्ने ५० लाख पेश्की दिइसकेको छ। 'डाेलिडारले पेश्की दिँदैन । रनिङ बिल उठे पछि भुक्तानी नै दिन्छ । गाउँपालिकाले आफ्नो तर्फबाट दिनुपर्ने पेश्की रकम ५० लाख दिइसकेको हो । कुरै नबुझी कार्यालय प्रमुखमाथि आक्रमण भयाे,' उनले भने ।
