जटिल प्रसूतिमा परेकी स्टाफ नर्सको हवाइ उद्धार

बिरामीको उपचारमा सधैं खटिने नर्स सविता बोहोरालाई जटिल प्रसूति देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

असार २६, २०८३

रामचन्द्र न्यौपाने

Air rescue of staff nurse facing complicated childbirth

डोल्पा — बिरामीको उपचारमा खटिएकी डोल्पा जिल्ला अस्पतालकी एक स्टाफ नर्स आफैं जटिल प्रसूति समस्यामा परेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

डोल्पा जिल्ला अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटकी २८ वर्षीया सविता बोहोरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बिहीबार हवाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

प्रसूतिको समय नजिकिएपछि बोहोरालाई जिल्ला अस्पतालमै भर्ना गरिएको थियो। तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालमा सहज रूपमा सुत्केरी गराउन नसकिने चिकित्सकको निष्कर्षपछि थप उपचारका लागि सुविधासम्पन्न स्वास्थ्य संस्थामा रिफर गरिएको थियो। चिकित्सकको सिफारिसका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन्।

दैनिक रूपमा बिरामीको उपचार र हेरचाहमा खटिने स्वास्थ्यकर्मी स्वयं जटिल प्रसूति समस्यामा परेपछि हवाई उद्धार गर्नुपरेको हो। दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा र आवश्यक उपकरणको अभावका कारण जटिल प्रकृतिका प्रसूति तथा अन्य स्वास्थ्य समस्याका बिरामीलाई आवश्यक पर्दा हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully