कर्णालीमा भेटिएको शव दुर्घटनामा बेपत्ता किशोरीको भएको पुष्टि

शव सवारी दुर्घटनापछि बेपत्ता भएकी कालिकोटको रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सिर्जना खड्काको भएको प्रहरीले जनाएको छ।

असार २५, २०८३

ज्योति कटुवाल

The body found in Karnali confirmed to be that of the girl missing in the accident

सुर्खेत — सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। शव सवारी दुर्घटनापछि बेपत्ता भएकी कालिकोटको रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सिर्जना खड्काको भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार असार २३ गते साँझ ४ बजेतिर कर्णाली नदीको छालमा घोप्टो अवस्थामा महिलाको शव फेला परेको थियो। 

शव परीक्षणका लागि प्रदेश अस्पताल, कालागाउँको शवगृहमा राखिएको थियो। बुधबार साँझ करिब ६:३० बजे मृतकका बुवा धनबहादुर खड्काले शव सनाखत गरेपछि मृतक सिर्जना खड्का रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। सिर्जना केही दिनअघि कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा भएको सवारी दुर्घटनापछि नदीमा बेपत्ता भएकी थिइन्। दुर्घटनापछि तीनवटै सुरक्षा निकायले निरन्तर खोजी अभियान सञ्चालन गरेका थिए। 

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully