पटमारा गाउँका महिलाले अन्तत: बुझे- यदि उनीहरू आफैं नउठ्ने हो भने उनीहरूका छोरी–बुहारीले पनि त्यही गोठ र त्यही विभेदको चक्रव्यूह भोग्नुपर्नेछ ।
What you should know
जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–७, पटमारा गाउँ हिउँदमा सेताम्मे हिउँले ढाकिने र बर्खामा हरियाली छाउने सुन्दर गाउँका रूपमा परिचित छ । तर, यो विकट गाउँको सुन्दरताभित्र एउटा कुरुप यथार्थ पनि लुकेको थियो- महिला हुनुको पीडा ।
पाँच वर्ष पहिलेसम्म यहाँका महिलाको जीवन एउटा निश्चित र निराशलाग्दो परिधिभित्र कैद थियो । महिनाका सात दिन, जसलाई समाजले 'छुइ’ (महिनावारी) भन्थ्यो, उनीहरूका लागि सजाय बन्थ्यो । गाईबस्तु कराउने, गोबर गन्हाउने र ओस परेको चिसो गोठ नै उनीहरूको बासस्थान हुन्थ्यो ।
त्यही गाउँकी रूपा थापा, जो आज ५० वर्षकी भइन्, उनीसँग त्यो विगतको तीतो दस्ताबेज सुरक्षित छ । ‘त्यसबेला गोठभित्र किरा–फट्याङ्ग्राहरूसँगै सुत्नुपर्थ्यो, न जीउ सुरक्षित थियो, न मन । रूपा पुराना ती दिन सम्झिँदै अमिलो हाँसो हाँस्छिन् । सातवटा बच्चाकी आमा रूपाले आफ्नो आङमा सन्तान हुर्किंदा कहिल्यै आइरन 'चक्की’ को नाम समेत सुन्न पाइनन्, गर्भजाँच त धेरै टाढाको कुरा थियो । रोग लागे धामीझाँक्रीकै भर पर्नुपर्ने र प्रसवको पीडा गोठकै कुनामा लुकाउनुपर्ने बाध्यता थियो ।
त्यसबेला पटमाराकी तारादेवी थापा पनि सामाजिक विभेदले दिक्दार थिइन् । धारा–पँधेरामा जाँदा हुने जातीय छुवाछूत, पुरुषको एकलौटी शासन महिलाले सहेकै हुनुपर्छ भन्ने सामाजिक मान्यताले उनीहरूको मानसपटलमा एउटा गहिरो अड्डा जमाएको थियो ।
तर, समय सधैं एकैनास रहँदैन । अन्याय र विभेदको एउटा सीमा हुन्छ, जहाँ पुगेपछि सहनशीलता विद्रोहमा परिणत हुन्छ । पटमारा गाउँका महिलाहरूले बुझे कि- यदि उनीहरू आफैं नउठ्ने हो भने उनीहरूका छोरी–बुहारीले पनि त्यही गोठ र त्यही विभेदको चक्रव्यूह भोग्नुपर्नेछ ।
गाउँका १ सय ८५ घरधुरीका महिला बिस्तारै संगठित हुन थाले । उनीहरूले महिनामा एकपटक बैठक बस्ने, थोरै–थोरै पैसा बचत गर्ने र गाउँका साझा समस्याबारे छलफल गर्ने थलो बनाए । सुरु–सुरुमा 'आइरन चक्की’ सम्म नदेखेका यी महिला जब एक ठाउँमा उभिए, तब गाउँको पुरातन शक्ति संरचना हल्लिन थाल्यो । धनसरा थापा यस अभियानको अर्की एउटी बलियो खम्बा बनेर उभिइन् । उनले महिनामा तीन–चार पटकसम्म महिला र पुरुषलाई सँगै राखेर छलफल चलाउन थालिन् । ‘पहिले–पहिले त आफ्ना पीडा पोख्दा घरको इज्जत जान्छ भन्ने डर थियो महिलाहरूमा,‘ धनसरा भन्छिन्, ‘तर हामीले बुझायौं कि इज्जत विभेद सहेर होइन, अधिकार मागेर जोगिन्छ ।’
अहिले पटमारा गाउँ फेरिएको छ । हिजोसम्म बिरामी हुँदा धामीझाँक्रीकहाँ लैजान दबाब दिने समाज अहिले बिरामीलाई अस्पताल पुर्याउन हतारिन्छ । हिजो उमेर नपुग्दै छोरीहरूको विवाह गरिदिने बाबु–आमा आज बालविवाहका कानुनी प्रक्रिया र यसका शारीरिक असरबारे सचेत छन् । धनसरा गर्वका साथ भन्छिन्, ‘अहिले गाउँमा एउटा पनि बालविवाह भएको छैन र हुन दिने पक्षमा पनि कोही छैनन् ।’
कुनै बेला पुरुषको एकलौटी शासन खेपेकी ५० वर्षीया रुपा थापा पछिल्लो पुस्ताका लागि वैशाखी बनेर उभिएकी छन् । उनी अचेल गाउँमा कसैको घरमा महिला महिनावारी हुँदा गोठमा होइन, सुरक्षित कोठामा बस्न सुझाइरहेकी भेटिन्छिन्। गर्भवती महिलालाई नियमित अस्पताल जान, आइरन चक्की खान र आमा–बच्चा दुवैलाई पोषिलो खानेकुरा खुवाउन उनी आफैं घरदैलो पुग्छिन् । गाउँलेले पनि उनलाई सघाउँछन् ।
गाउँका महिलाको यो सामूहिक आँटले पटमारालाई शान्त र सचेत गाउँ बनाएको छ । यी ग्रामीण महिलाहरूको यो अदम्य साहस केवल गाउँमै सीमित रहेन । उनीहरूको यो प्रयासलाई सामाजिक विकास कार्यालय, जुम्ला र राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखाले पनि ऊर्जा थपिदिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगकी जुम्ला प्रमुख कल्पना नेपाल आचार्य महिलाहरूको यो साहसलाई प्रशंसनीय मान्छिन्। उनी भन्छिन्, ‘हाम्रो परिकल्पना अब शान्त, सुन्दर र मानवअधिकारमैत्री समाज स्थापना नै हुनुपर्छ, जसमा यी महिला जग बनेर उभिएका छन् ।’
सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढा भौतिक संरचना निर्माणसँगै समाजमा वर्षौंदेखि जरा गाडेर बसेका हानिकारक अभ्यासलाई जरैदेखि उखेल्न कार्यालयले चेतना छर्ने काम गरिरहेको र जिल्लाका अन्य स्थानीय तहमा पनि यस्ता अभियान विस्तार गरिरहेको बताउँछन् । उनका अनुसार गाउँको परिवर्तनमा महिला सहभागिता लोभलाग्दो मात्र होइन, उपलब्धिपूर्णसमेत देखिन थालेको छ ।
हिजो आइरन चक्की नदेखेकी रुपा, विभेदले दिक्दार भएकी तारादेवी र समाज बदल्न कम्मर कसेकी धनसरा- यी केवल पात्र मात्र होइनन् । यी त कर्णालीको त्यो तस्बिर हुन्, जसले देखाउँछ कि जब महिलाहरू आफ्नो अधिकार र स्वास्थ्यप्रति सचेत हुन्छन्, तब समाजका पुराना र कुरुप भग्नावशेषहरू ढल्न धेरै समय लाग्दैन । पटमारा गाउँका महिलाले परिवर्तनका लागि ठूला भाषण होइन, केवल एकजुट भएर उठाइने सानो कदम नै काफी हुने प्रमाणित गरिदिएका छन् ।
अहिले गाउँमा पुरुषहरू पनि महिलाको कामप्रति प्रशंसा गरिरहेका छन् । गाउँको शान्ति-सुरक्षादेखि हानिकारक अभ्यास रोक्ने जिम्मेवारी महिलाको काँधमा छ ।
