ग्यासको सहज आपूर्ति नहुनु, जिल्लाभरि ग्यास कम्पनीको आधिकारिक बिक्रेता नहुनु र महँगो ढुवानी भाडाका कारण उपभोक्ता महँगीको मार खेप्न बाध्य ।
What you should know
सुर्खेत — प्रदेश राजधानी वीरेन्द्रनगरमा आधा ग्यास सिलिण्डरको मूल्य १ हजार ३० रुपैयाँ छ । तर त्यही ग्यास हुम्ला सदरमुकाम सिमकोटमा १ हजार ७ सय रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । त्यसमाथि ग्यासको अभाव भएपछि त हिमाली क्षेत्रका उपभोक्ता झन् मारमा परेका छन् ।
ग्यासको सहज आपूर्ति नहुनु, जिल्लाभरि ग्यास कम्पनीको आधिकारिक बिक्रेता नहुनु र महँगो ढुवानी भाडाका कारण उपभोक्ता महँगीको मारमा परेका हुन् । ‘यसअघि पूरै भरिएको सिलिण्डर २५ सयदेखि २८ सयसम्ममा पाइन्थ्यो,’ स्थानीय शिक्षक मानबहादुर रोकायाले भने, ‘अहिले न तौलकै भरोसा छ, न त मूल्यकै, आधा भरिएको ग्यास १२ सयदेखि १४ सय रुपैयाँमा पाइनुपर्ने हो ।’
अभाव भएपछि स्वास्थ्य र सहजताका कारण ग्यासबाट खाना पकाउने बानी परेका स्थानीयले फेरि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता भएको सिमकोटस्थित सिमभ्याली होटलका सञ्चालक निमा लामाले बताए । ‘महँगोमै किन्छु भन्दा पनि ग्यास पाइँदैन,’ उनले भने, ‘सडक सुविधा भएपछि दाउरा छोडेर ग्यासमा खाना पकाउन थालेका थियौं, फेरि दाउरामै फर्किनुपर्ने बाध्यता भयो ।’ उनका अनुसार सिमकोट आसपासमा सामुदायिक वन नभएकाले खार्पुनाथ, सर्केगाडलगायत गाउँपालिकाबाट खच्चडमा बोकाएर सदरमुकाम सिमकोटमा दाउरा ल्याइन्छ । सिमकोटमा एक भारी दाउराको मूल्य ८ सयबाट बढेर एक हजारदेखि १ हजार २ सय रुपैयाँसम्म बढेको उनले बताए ।
हुम्लामा भेरी, साइपाल, राप्ती, नेपाललगायत ग्यास पाइन्छ । तर कुनै पनि कम्पनीका आधिकारिक विक्रेता जिल्लामा नभएकाले ग्यासको मूल्य बढी पर्न गएको स्थानीय व्यवसायी बखत लामाले बताए । ‘हामीले नेपालगन्ज र सुर्खेतमा जुन ग्यास पाइन्छ, त्यही ग्यास यता मगाउने हो, गाडीहरूले ग्यासको ढुवानी गर्नै मान्दैनन्, त्यसमा भरिएको र आधा ग्यास ढुवानी गर्दा उस्तै भाडा पर्ने भएकाले महँगोमा बेच्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार गत असारमा मात्र खोलिएको सडक कच्ची हुँदा एउटा ग्यासको ढुवानी भाडा २ सयदेखि २ सय ५० रुपैयाँसम्म पर्न जान्छ । ‘त्यसमा हामीले पनि केही फाइदा जोड्नै पर्यो,’ उनले भने, ‘नेपालगन्ज र सुर्खेतमा पनि ग्यासको आपूर्ति सहज नहुँदा प्रतिसिलिण्डर एक/डेढ सय रुपैयाँ महँगोमा किन्नुपर्ने बाध्यता छ ।’ हुम्लाका ग्रामीण क्षेत्रमा समेत ग्यासबाट खाना पकाउने चलन बढेको छ । तर सदरमुकाममै ग्यासको अभाव हुँदा आफूहरू खाना पकाउन दाउराकै भर पर्नुपर्ने बाध्याता भएको खार्पुनाथ गाउँपालिका–३ का कमल बुढाले बताए ।
सर्केगाड बजारमा पनि ग्यासको अभाव देखिएको व्यवसायी सन्तोष सिंहले बताए । ‘उपभोक्ताको माग बढेको बढ्यै छ,’ उनले भने, ‘नेपालगन्ज र सुर्खेतका व्यापारीले यतातिर ग्यास पठाउनै मान्दैनन् ।’ उनका अनुसार चंखेली गाउँपालिकाको पिप्लाङ, खार्पुनाथको याङ्चुबजार, अदानचुलीको श्रीनगरलगायत व्यापारिक केन्द्रमा पनि ग्यास पाउन मुस्किल छ ।
सुर्खेतका आयल स्टोरहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९६ र डिजेलको मूल्य प्रतिलिटर १ सय ९४ रुपैयाँ छ । तर त्यही इन्धन सिमकोट पुग्दा भने २ सय ६० देखि ३ सय रुपैयाँमा किनबेच हुने गरेको छ । ‘यहाँ पेट्रोल पम्पहरू छैनन, व्यापारीले ड्रममा राखेको इन्धन मनपरी मूल्यमा बिक्री गर्छन्,’ सिमकोट गाउँपालिका–६ का जनक बुढाले भने, ‘एक त लिटर नाप्ने सही उपकरण पनि हुँदैन, त्यसमा जति मूल्य भन्छन् त्यति नै तिर्नुपर्ने बाध्यता छ ।’
सिमकोटका स्थानीय रुटमा जिप सञ्चालन गरिरहेका यातायात व्यवसायी पदम भण्डारीले सरकारले इन्धनको मूल्य घटाए पनि आफूहरूले ३ सय रुपैयाँमै डिजल र पेट्रोल किन्नुपर्ने बाध्यता भएको गुनासो गरे । ‘सदरमुकाममा चेकिङ भइराख्ने भएकाले व्यापारीले २ सय ६० रुपैयाँसम्म प्रतिलिटरमा बेच्छन्, अन्यत्र त ३ सय घटीमा इन्धन पाउनै मुस्किल छ,’ उनले भने, ‘तेलको भाउ महँगो हुँदा भाडा पनि त्यहीअनुसार बढाउनुपर्ने बाध्यता भयो ।’ उनले तीन महिनाअघि सिमकोट–खार्पु रुटमा ५ हजार रुपैयाँमा रिजर्वमा जाने गरेको भए पनि अहिले ७ हजार रुपैयाँमा यात्रुलाई दिने गरेको जानकारी दिए ।
इन्धन र ग्यासमा कालोबजारी भएकोबारे अहिलेसम्म कुनै गुनासो नआएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । ‘कच्ची सडकमा महँगो ढुवानी भाडा भएकाले केही महँगो त परेको होला,’ उनले भने, ‘उपभोक्ताको कुनै गुनासो आएको छैन, हामीले बेलाबेलामा अनुगमन पनि गरिरहेका छौं, कतै कैफियत भेटिए व्यापारीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’
