नगरले निम्त्याएको विपद्ले मान्म बजारका ९ घर पहिरोको उच्च जोखिममा

दुई वर्षदेखि नगरपालिका भवन निर्माण सुस्त गतिमा ।

असार २३, २०८३

तुलाराम पाण्डे

9 houses in Manma Bazaar at high risk of landslide due to city-caused disaster

What you should know

कालीकोट — यहाँको खाँडाचक्र नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि डोजर लगाएर खनेको जगका कारण यहाँका ९ घर पहिरोको उच्च जोखिममा परेका छन् । डेढ वर्षअघि ठेक्का लगाइएको नगरको भवन निर्माणका लागि गत वर्षको फागुनमा डोजरले माटो खन्दा पहिरो खसेर मान्म बजार जाने सडक पूरै भत्किएपछि थप २० लाख खर्चिएर पर्खाल लगाइए पनि यस वर्ष पुन: पहिरो बग्न थालेको छ । 

नगरपालिकाको ७ तले बहुउद्देश्यीय प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्काअनुसार निर्माण व्यवसायीले काम रफ्तारमा नगर्दा मान्म बजारको सेरापाटा क्षेत्र जोखिममा परेको स्थानीयको गुनासो छ । ‘पहिले लगाएको पर्खाल भत्किसक्यो,’ स्थानीय कर्णप्रसाद चौलागाईले भने, ‘सडक भत्किएर बाटोमाथिका घर पनि जोखिममा छन् ।’ उनले ठेकेदारले काममा ढिलासुस्ती गरेकाले जोखिम बढेको सुनाए । 'ठेक्का लागेको त दुई वर्ष  भइसक्यो,' उनले भने, 'काम सुरु गरेको एक वषमा पनि कामले गति लिएको छैन ।' 

नगरको भवन निर्माणका लागि जग खन्दा आयोजना स्थलमाथिका कर्णप्रसाद चौलागाई, लालप्रसाद पोखरेल, भानुभक्त आचार्य, भवानीप्रसाद आचार्य, कालीबहादुर शाही, गंगाराम आचार्य, हर्कबहादुर शाही, रामकान्त आचार्यलगायतका घर पहिरोको उच्च जोखिममा छन् ।  ती घरका बासिन्दा पहिरोको डरले राती घरमा बस्दैनन् । मानव सिर्जित विपद्ले मान्म बजार आउने बाटो पनि बन्द भएकाले स्थानीय व्यापारीलाई मर्का परेको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । 

नगरपालिकाले भवनको जग खन्दा केही घर जोखिममा परेकाले नगरपालिकाले छिटोछरितो काम गरेर क्षति कम गर्नुपर्ने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ गोकर्णराज सुयलले बताए ।  

खाँडाचक्र नगरपालिकाले तत्कालीन जिल्ला विकास समितिको जग्गा आफ्नो नाममा लिएर ठेक्का लगाएको हो । नगरपालिकाले भ्याटसहित  १९ करोड ६२ लाख ६५ हजार ९ सय ३२ रुपैयाँमा काठमाडौंको एम एसआर एण्ड सीएससँग २०८१ पुसमा ठेक्का सम्झौता गरेको थियो ।  ठेक्काको समयावधि आउँदो २४ असार ०८४ मा सकिनेछ । ठेकेदारले १ करोड ५० लाख रुपैयाँ पेस्की लिएको नगरपालिकाले जनाएको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully