प्रभावित परिवारलाई हाल आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ।
What you should know
डोल्पा — डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीबाट प्रभावित परिवारलाई जगदुल्ला गाउँपालिकाले तत्काल ४ लाख ६० हजार रुपैयाँ राहत वितरण गरेको छ।
गाउँपालिका अध्यक्ष नारसिंह रोकायका अनुसार बाढीबाट पूर्ण रूपमा विस्थापित भएका ८ घरधुरीलाई प्रतिघरधुरी ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ।
यस्तै, आंशिक रूपमा प्रभावित १९ घरधुरीलाई प्रतिघरधुरी १० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको उनले बताए।
बाढीमा परी मृत्यु भएकी ५६ वर्षीया आनन्दी विकको परिवारलाई समेत ५० हजार रुपैयाँ राहत उपलब्ध गराइएको अध्यक्ष रोकायले जानकारी दिए।
उनका अनुसार प्रभावित परिवारलाई हाल आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ।
गाउँपालिकाका अनुसार बाढीबाट कुल ३५ घरधुरी प्रभावित भएका छन् भने ७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन्। बाढीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको मुचुल्का उठाइएको डीएसपी अनिलराज गिरीले बताए।
उता, बाढीपछि उद्धार, राहत तथा क्षतिको विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली परिचालन भएका छन्। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ।
बाढीमा घाइते भएकी ४४ वर्षीया रेउली विकको अवस्था गम्भीर भएपछि गृहमन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट लगिएको थप राहत सामग्री सोमबार वितरण गरिने जनाएको छ।
स्थानीय तह, सुरक्षा निकाय र प्रशासनबीच समन्वय गरी राहत वितरण तथा पुनःस्थापनाका कामलाई अघि बढाइएको बताइएको छ।
