तीनवटै सुरक्षा निकायले नदीका विभिन्न तटीय क्षेत्रमा अन्य बेपत्ताको खोजीलाई निरन्तरता दिएका छन् ।
काठमाडौँ — दैलेखस्थित कर्णाली नदीमा खसेको मिनीबस दुर्घटनामा बेपत्ता भएका सहचालक रामप्रसाद सुवेदीको शव कैलालीमा फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले कैलालीको घाटगाउँमा फेला परेको बताए । ‘शवको फोटो आफन्तले हेरेर रामप्रसाद सुवेदी नै रहेको पुष्टि भएको हो,' उनले भने, 'अन्यको पनि तीव्रगतिमा खोजी भएको छ ।’
गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट कर्णाली नदीमा खसेको थियो । दुर्घटनापछि चालक र सहचालकसहित केही यात्रु बेपत्ता भएका थिए। सहचालक सुवेदीको शव फेला परे पनि दुर्घटनामा बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य भने जारी रहेको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गोताखोर टोली तथा अन्य सुरक्षा निकायले नदीका विभिन्न तटीय क्षेत्रमा खोजीलाई निरन्तरता दिएका छन्।
