भर्खर गोडमेल गरिएकोदेखि घोगा लाग्ने तयारीमा रहेका मकैसम्म किराले नष्ट गर्न थालेपछि कतिपय किसान दोस्रो पटक मकै छर्न बाध्य भएका छन्।
What you should know
सल्यान — लामो खडेरीपछि परेको वर्षासँगै फैलिएको फौजी किराको प्रकोपले सल्यानका १० वटै स्थानीय तहमा मकैबालीमा क्षति पुर्याएको छ। भर्खर गोडमेल गरिएकोदेखि घोगा लाग्ने तयारीमा रहेका मकैसम्म किराले नष्ट गर्न थालेपछि कतिपय किसान दोस्रो पटक मकै छर्न बाध्य भएका छन्।
शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा गाउँपालिकासहित जिल्लाका अधिकांश क्षेत्रमा फौजी किराले मकैको गुवा र कलिलो मुन्टा खाइदिँदा बोट नै सुक्न थालेको कृषि प्राविधिकहरूले बताएका छन्। सल्यानमा यस वर्ष करिब १८ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ।
शारदा नगरपालिका–३ की सीता सिंहले पाँच रोपनीमा लगाएको मकैमा फौजी किराले ठूलो क्षति पुर्याएको बताइन्। ‘एक बित्ता जति मकैको मुन्टा नै खाइदिएको छ, कतिपय बोट सुकिसके,’ उनले भनिन्, ‘हाम्रो मात्र होइन, गाउँभरिका किसानको अवस्था उस्तै छ।’
बन्गाड कुपिण्डे नगरपालिका–९ का देवबहादुर बुढाथोकीका अनुसार १० रोपनीमा लगाएको मकैमा एग्रोभेटबाट ल्याएको विषादी प्रयोग गर्दा पनि किरा नियन्त्रण हुन सकेन। ‘पहिले चार मुरीभन्दा बढी मकै उत्पादन हुन्थ्यो, त्यसैले चार महिनासम्म परिवारको खर्च चल्थ्यो,’ उनले भने, ‘यसपालि घोगा लाग्ने सम्भावना नै छैन।’
कुमाख गाउँपालिकाका कृषि प्राविधिक शिवप्रकाश ओलीका अनुसार सातै वडामा १५–२० हेक्टरभन्दा बढी क्षेत्रफलको मकैबाली प्रभावित भएको छ। लामो खडेरीपछि परेको वर्षाले फौजी किराको प्रकोप बढाएको र पालिकाले वडामार्फत विषादी वितरण गरिरहेको उनले बताए।
दार्मा गाउँपालिकाका कृषि शाखा प्रमुख रामहरी गैरेले सबै वडामा फौजी किरा देखिए पनि धेरै स्थानमा आंशिक क्षति भएको बताए। ‘धेरै प्रभावित किसानलाई विषादी दिएका छौं, वर्षा बढेसँगै प्रकोप केही घट्दै गएको छ,’ उनले भने।
बन्गाड कुपिण्डे नगरपालिकाका कृषि शाखा प्रमुख नारायण बेल्बासेका अनुसार पालिकामा करिब २ हजार हेक्टर क्षेत्रफलमा लगाइएको मकैमध्ये झन्डै ८० प्रतिशत क्षेत्रमा फौजी किराको असर देखिएको छ। ‘धानपछि मकै यहाँको मुख्य बाली हो। उत्पादन घटे किसानको जीविकोपार्जनमै असर पर्छ,’ उनले भने।
कृषि विकास कार्यालय सल्यानका प्रमुख ईश्वरीनारायण घर्तीले लामो समय वर्षा नहुँदा जिल्लाभर फौजी किराको प्रकोप फैलिएको बताए। ‘पालिकाबाट क्षतिको यकिन विवरण आउन बाँकी छ,’ उनले भने, ‘समयमै नियन्त्रण गर्न नसके उत्पादनमा उल्लेख्य गिरावट आउन सक्छ। कार्यालयले आवश्यक विषादी उपलब्ध गराइरहेको छ।’
