कर्णालीमा यात्रुसहित बेपत्ता गाडी खोज्न सेनाले खटायो विशेष उद्धार टोली

दुर्घटना भएको पाँच दिन बितिसक्दा पनि गाडी र यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सेनाले खोजी अभियानलाई अझ सघन बनाएको हो।

असार २२, २०८३

ज्योति कटुवाल

Army deploys special rescue team to search for missing vehicle with passengers in Karnali

What you should know

सुर्खेत — दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजीलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले गोताखोरसहित २० जनाको विशेष उद्धार टोली परिचालन गरेको छ। दुर्घटना भएको पाँच दिन बितिसक्दा पनि गाडी र यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सेनाले खोजी अभियानलाई अझ सघन बनाएको हो।

उत्तर–पश्चिम पृतनाका अनुसार आइतबारदेखि गोताखोरसहितको विशेष टोली घटनास्थलमा परिचालन गरिएको हो। यसअघि असार १९ गतेदेखि नै ७० जना सैनिक उद्धार सामग्रीसहित परिचालन भएर कर्णाली नदी र आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्।

असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेटाडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। त्यसयता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

तर कर्णाली नदीको तीव्र बहाव, गहिरो भंगालो र धमिलो पानीका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायले जनाएको छ।

उत्तर–पश्चिम पृतनाका अनुसार घटनास्थलदेखि सुर्खेत हुँदै बर्दियासम्म कर्णाली नदीका सम्भावित क्षेत्रमा पैदल गस्ती, रबर बोट, हेलिकोप्टर, ड्रोन र गोताखोर परिचालन गरेर खोजी अभियानलाई निरन्तरता दिइएको छ। नदीको बहावले गाडी बगाएको हुन सक्ने सम्भावित स्थानलाई समेत केन्द्रमा राखेर खोजी भइरहेको सेनाले जनाएको छ।

सुरक्षा निकायले नदीको बहाव र मौसम अनुकूल भएसँगै खोजी अभियानलाई अझ तीव्र बनाइने जनाएको छ। दुर्घटनापछि बेपत्ता भएका गाडी र यात्रुको अवस्था अझै खुल्न सकेको छैन।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully