अनुगमन कमजोर हुँदा सल्यानमा दर्ताविनै ३० स्वास्थ्य संस्था सञ्चालनमा रहेको पाइएको छ।
What you should know
सल्यान — सल्यानमा एक अस्पतालसहित ३० स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ। कमजोर अनुगमनका कारण दर्ताबिनै सञ्चालन भइरहेका ती संस्थाले स्वास्थ्य सेवा दिइरहेका हुन्।
स्वास्थ्य कार्यालय सल्यानका अनुसार जिल्लाका १० स्थानीय तहमा हाल सात संस्थागत अस्पतालसहित १ सय ७ निजी अस्पताल, पोलिक्लिनिक, मेडिकल र क्लिनिक सञ्चालनमा छन्। तीमध्ये ७७ वटा मात्र सम्बन्धित निकायमा दर्ता छन् भने बाँकी ३० वटा दर्ताविनै सञ्चालन भइरहेका छन्।
पछिल्लो समय स्थानीय तहले अनुगमन सुरु गरे पनि प्रभावकारी कारबाही हुन सकेको छैन। औषधि व्यवस्था विभागले नवीकरण नगरेको भन्दै १७ वटा मेडिकल तथा फार्मेसीको दर्ता खारेज गरेको छ भने बन्गाड कुपिण्डे नगरपालिकाले एक मेडिकल सिल गरेको छ।
पालिकागत तथ्यांकअनुसार बन्गाड कुपिण्डे नगरपालिकामा एक अस्पतालसहित पाँच मेडिकल तथा क्लिनिक, कपुरकोट गाउँपालिकामा तीन, दार्मा गाउँपालिकामा पाँच, त्रिवेणी गाउँपालिकामा पाँच, छत्रेश्वरी गाउँपालिकामा चार, कालिमाटी गाउँपालिकामा दुई र सिद्धकुमाख गाउँपालिकामा चार वटा स्वास्थ्य संस्था दर्ताविनै सञ्चालनमा रहेको पाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले मेडिकल र क्लिनिकले चिकित्सकको सिफारिसबिनै एन्टिबायोटिकजस्ता औषधि बिक्री गर्नु गम्भीर समस्या भएको बताए। 'सामान्य औषधिमात्र बिक्री गर्न पाउने ठाउँबाट जथाभावी एन्टिबायोटिक वितरण भइरहेको छ,' उनले भने, 'अनुगमन प्रभावकारी नहुँदा बिरामीको स्वास्थ्यसँग खेलवाड भइरहेको छ।' उनका अनुसार जिल्लाका केही संस्थागत अस्पतालसमेत न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा छन्।
बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलका अनुसार नगरपालिकाभित्र सञ्चालनमा रहेका एक निजी अस्पतालसहित १३ मेडिकल तथा क्लिनिकमध्ये पाँच वटाले मात्र दर्ता गरेका छन्। अनुगमनपछि एउटा मेडिकल सिल गरिएको र बाँकीलाई आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र दर्ता हुन निर्देशन दिइएको उनले बताए। 'अनुगमन टोली पुगेको थाहा पाएपछि कतिपय सञ्चालक ताला लगाएर भाग्ने गरेका छन्,' उनले भने, 'एक महिनाभित्र दर्ता नभए बाँकीलाई पनि सिल गर्छौं।'
शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार हमालले विगतमा औषधि व्यवस्था विभागको प्रभावकारी अनुगमन नहुँदा समस्या बढेको भए पनि अहिले नगरपालिकाले कडाइ गरेपछि सबै स्वास्थ्य संस्था दर्ताको दायरामा आएको बताए। उनका अनुसार नगरपालिकामा हाल ६ अस्पताल तथा १२ मेडिकल र क्लिनिक सञ्चालनमा छन्।
त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठका अनुसार पालिकाभित्र १७ निजी मेडिकल तथा क्लिनिक सञ्चालनमा रहेकामा १२ वटा मात्र औषधि व्यवस्था विभाग र सम्बन्धित निकायमा दर्ता छन्। पालिकामा भने अहिलेसम्म कुनै पनि संस्था दर्ता भएका छैनन्। 'अनुगमन गर्ने अधिकार आए पनि जनशक्ति र अन्य कारणले प्रभावकारी कारबाही गर्न सकेका छैनौं,' उनले भने।
दार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतका अनुसार पालिकाभित्र सञ्चालनमा रहेका सातमध्ये पाँच मेडिकल तथा क्लिनिक अझै दर्ताबाहिर छन्। 'दर्ता प्रक्रिया झन्झटिलो ठानेर र कर तिर्न नपरोस् भन्ने उद्देश्यले धेरैले दर्ता गरेका छैनन्,' उनले भने। छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले यसै वर्षदेखि व्यापक अनुगमन सुरु गर्ने तयारी भइरहेको बताए। 'दर्ताविनै सञ्चालनमा रहेका मेडिकल तथा क्लिनिकलाई बन्द गराइनेछ,' उनले भने।
