उद्धारका लागि जिल्ला प्रहरी कार्यालयसहित आसपासका प्रहरी इकाईबाट झण्डै एक सय प्रहरी खटिएका छन् । गाडी खोज्न सशस्त्र प्रहरीका ६ जना गोताखोर पनि खटाइएको छ ।
What you should know
सुर्खेत — सुर्खेतबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस (फोर्स गाडी) बिहीबार साढे ११ बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयसहित आसपासका प्रहरी इकाईबाट झण्डै एक सय प्रहरी खटिएका छन् । गाडी खोज्न सशस्त्र प्रहरीका ६ जना गोताखोर पनि खटाइएको छ । तर शुक्रबार साँझ अबेरसम्म दुर्घटनाग्रस्त गाडी भेटिएको छैन ।
कठिन भूगोल, कर्णालीको बहाव उच्च हुनु, पानी धमिलो हुनु, गाडी खसेको ठाउँ गहिरो खोचमा भएकाले दुई दिनसम्म गाडी नभेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘गाडी खसेको ठाउँ ४/५ सय मिटरको पुरै भीर छ, गाडी खस्दा ४/५ बल्ड्याङ खाएर रुखहरु भाँच्दै खसेको पाइयो,’ कर्णाली प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले भने, ‘त्यहाँबाट नदीमा पस्न डोरी लगाएर मात्र जान सकिने अवस्था छ, अरु ठाउँभन्दा बढी गहिराई भएको खोचमा गाडी खसेकाले गाडी भेटाउनै मुस्किल भयो, त्यसमा पनि धमिलो पानी र नदीको प्रवाह अत्यधिक हुँदा जटिल भयो ।’
बिहीबार बिहान ८ बजे सुर्खेत बसपार्कबाट हिँडेको बुलबुले यातायात प्रालिको गाडीमा ५ यात्रु सवार थिए । बीच बाटोबाट पनि केही यात्रु चढेको प्रहरीको अनुमान छ । तर गाडी पार गरेका प्रहरी चौकीहरुमा उक्त गाडी ‘इन्ट्री’ नभएकाले कति यात्रु थिए भन्ने अझै एकीन हुन नसकेको उनले जानकारी दिए । ‘हामीले गाडी खसेको ठाउँभन्दा तलतिर झण्डै ५ किलोमिटरसम्म पनि प्रहरी परिचालन गरेका छौं,’ डीआईजी सापकोटाले भने, ‘गाडी बगेको भए पनि भेटिनुपर्ने हो, तर कतै पनि देखिएन ।’ उनका अनुसार ड्रोन क्यामेराबाट पनि सम्भावित स्थानहरूमा खोजी सुरु गरिएको छ ।
गाडी खसेको ठाउँबाट भीरमा अड्किएको अवस्थामा प्रहरीले एक व्यक्तिको शव निकालेको थियो । उक्त शव कालीकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जोखे तिरुवाको भएको प्रहरीले जनाएको छ ।
गाडी खोज्न सशस्त्र प्रहरी बलको महेश्वरी बाहिनीबाट ६ जना गोताखोरको टोली पनि खटिएको छ । आसपासको क्षेत्रबाट गोताखोरको टोली पानीमुनि पस्दा पनि गाडी नदेखिएको सशस्त्र प्रहरी बलका डीआईजी कृष्णराज पाठकले बताए । ‘पानी पुरै धमिलो छ, पानीको बहाव उच्च भए पनि हामीले सकेजति प्रयास गरिरहेका छौं,’ उनले भने, ‘सबैतिरको पानी डोलिने ठाउँमै गाडी खसेको पाइयो, गहिराइ बढी तर चौडाइ कम भएको ठाउँ भएकाले पनि उद्धारमा समस्या भएको हो ।’ उनले गाडी बगेको आशंकामा गाडी खसेको भनिएको ठाउँभन्दा ५/६ किलोमिटर तलसम्म पनि गोताखोरको टोली पुगे पनि गाडी भेटाउन मुस्किल भएको जानकारी दिए । उनका अनुसार थप उद्धारका लागि कुरिनटारबाट पनि सशस्त्र प्रहरीका गोताखोरको टोली बोलाइएको छ । टोली शनिबार बिहानबाट परिचालन हुने उनले जानकारी दिए ।
अहिले गाडी खसेको ठाउँभन्दा झण्डै एक किलोमिटर माथिबाट असार २ गते पौडी खेल्दा बेपत्ता भएका एक युवक पनि अझैसम्म भेटिएका छैनन् । डोल्पाको जगदुल्ला गाउँपालिका–३ का २४ वर्षीय नविन रोकाय पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खोजी कार्यलाई थप प्रभावकारी बनाउन हेलिकप्टरसमेत परिचालन गर्न निर्देशन दिएका छन् । उनले शुक्रबार कर्णाली प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखसँग दुर्घटनापछि भइरहेको खोजी तथा उद्धारको कामको जानकारी लिँदै उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गरेका हुन् ।
