गाउँपालिकाले आफ्नै स्रोत, स्थानीय जनशक्ति र सीमित बजेटमा चीन र मुस्ताङ सीमासँगै डोल्पोबुद्ध गाउँपालिकासम्म सडक विस्तार गरिरहेको छ ।
What you should know
सुर्खेत — तल्लो भेरी करिडोरअन्तर्गत पर्ने लासिक्याप -कागकोट सडक निर्माण वर्षौंदेखि अघि नबढ्दा डोल्पाको छार्का ताङ्सोङ गाउँपालिकामा विकास आयोजनाका निर्माण सामग्री मानवीय श्रम र खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । सडक पहुँच नहुँदा विकास आयोजनाको लागतसमेत उल्लेख्य रूपमा बढेको स्थानीयको गुनासो छ ।
गाउँपालिकाले आफ्नै स्रोत, स्थानीय जनशक्ति र सीमित बजेटमा चीन र मुस्ताङ सीमासँगै डोल्पोबुद्ध गाउँपालिकासम्म सडक विस्तार गरिरहेको छ । तर राज्यको जिम्मेवारीमा रहेको करिब २१ किलोमिटर लामो लासिक्याप–कागकोट सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर ठेक्का प्रक्रियामा जानुपर्ने भए पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
गाउँपालिकाका इन्जिनियर बम भण्डारीका अनुसार सडक नबन्दा निर्माण सामग्री खच्चड र मानिसबाट ढुवानी गर्नुपर्ने अवस्था छ । त्यसकै कारण विकास आयोजनाको समय र लागत दुवै बढेको उनले बताए । निर्माण सामग्री ढुवानी महँगो हुँदा विकास बजेटको ठूलो हिस्सा ढुवानीमै खर्च हुने गरेको छ । एउटा सिमेन्टको बोराको ढुवानी खर्च मात्रै ४ हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने इन्जिनियर भण्डारीले बताए ।
सडक अभावकै कारण गाउँपालिकाले निर्माणाधीन आयोजनाका लागि आवश्यक कङ्क्रिट मिक्स्चर मेसिन र गिट्टी कुट्ने मेसिनसमेत स्थानीयको श्रम प्रयोग गरेर पुर्याएको छ । करिब ६० जना स्थानीयले पालैपालो काँधमा बोकेर ती मेसिन निर्माणस्थलसम्म पुर्याएका थिए ।
