कर्णालीका ठूला जिउलामा भएन रोपाइँ

पर्याप्त वर्षा नहुँदा कर्णाली प्रदेशमा अहिलेसम्म २८ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

असार १८, २०८३

कृष्णप्रसाद गौतम

Planting did not occur in large areas of Karnali

What you should know

सुर्खेत — जाजरकोटको भेरी नगरपालिका–१३ स्थित कुदुका झकबहादुर बटालालाई रोपाइँको चिन्ताले दिनहुँ सताउँछ। ‘धान नउब्जाए वर्षभरि के खाने ?, पानीकै आसमा असार जान लागिसक्यो,’ झण्डै १५ रोपनी खेतमा वर्षेनि धानखेती गर्ने उनले भने, ‘पानी नपरेकाले खेतमा चिराचिरा परेको छ, व्याडको बिउ पनि सुक्न थालिसक्यो, अहिले त खेततिर पनि जान छोडेका छौं ।’

लामो खडेरीका कारण रोपाइँ गर्न नपाएपछि उनका छिमेकी धर्मजीत बुढाको झण्डै १२ रोपनी जग्गा पनि बाँझै छ । ‘पानी नपरेसम्म खेत जोतेर पनि के गर्ने ?, मध्य बर्खासम्म पनि पानी नपर्दा ब्याडमा राखेको बिउ छिप्पिसक्यो,’ उनले भने, ‘वर्षा सुरु नहुँदा रोपाइँ अनिश्चित छ।’ 

भेरी नदी किनारको कुदु जिउलोमा झण्डै एक हजार धरधुरीको खेतीयोग्य जमिन छ । तर भेरी नदीभन्दा झण्डै ५० मिटर माथिको विशाल फाँटमा अझै रोपाइ सुरु भएको छैन । ‘गाउँ तल नदी बगिरहेको छ, हामी भने रोपाइँको लागि आकासेपानी कुर्न बाध्य छौं,’ स्थानीय किसान टोपबहादुर बटालाले भने, ‘सिँचाइ अभावमा वर्षमा एक बाली धान मात्र लगाउन बाध्य छौं, त्यो अन्नले नपुगे वर्षभरिको खाद्यान्नको जोहो गर्न भारतमा मजदुरी गर्न जानुको विकल्प छैन ।’  उनका अनुसार गत वर्ष भने वर्षा छिट्टै सुरु भएकाले यही समयमा अधिकांश किसानले धान रोपिसकेका थिए । 

कुदुफाँट पारिपट्टिको रकुम पश्चिमस्थित चौरजहारीमा पनि झण्डै आधा किसानले रोपाइँ गरेका छैनन् । ‘सिँचाइ सुविधा भएका खेतमा त रोपाइ सकियो, हामी भने आकाशे पानीकै पर्खाइमा छौं,’ स्थानीय किसान गोपिलाल गोसाईले भने, ‘लामो खडेरीले व्याड जोगाउनै मुस्किल भयो, रोपाइँको त अझैं टुंगो छैन ।’ उनका अनुसार चौरजहारी आसपासका विजयश्वरी, लहरेसिमल, खोलागाउँलगायत फाँटहरुमा पनि झण्डै ३ हजार किसानले रोपाइँको अझै सुरसार गरेका छैनन् । 

खडेरीका कारण जाजरकोटका पुन्मा, भुर, सिमा, साल्मा, पैंक, पजारु, गर्खाकोट, मजकोट, सुवानाउली, दशेरा, खगेनकोट, रग्दा, भगवती, थालारैकर, जुगाथापाचौर, ढीमे, बारेकोटलगायत जिउलामा अधिकांश किसानले रोपाइँ गर्न नसकेको कृषि विकास कार्यालयकी प्रमुख विद्या गौतमले बताइन् । उनका अनुसार अहिलेसम्म जाजरकोटमा मुस्किलले २० प्रतिशत मात्र रोपाइँ भएको छ । उनका अनुसार जिल्लामा २४ हजार ३ सय ६९ खेतीयोग्य जमिनमध्ये १५ हजार ५ सय २९ हेक्टरमा खेती भइरहेको छ । जसमा ४ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ । 

सल्यानमा पनि खडेरीका कारण सल्लीबजार, श्रीनगर, लान्ती, मोख्ला, ढोरचौर, थारमारेलगायत जिउलाहरु बाँझै छन् । ‘पानी परे त असार पहिलो साताभित्रै रोपिसक्थ्यौं,’ थारमारेका किसान मोहन ओलीले भने, ‘यो वर्ष त लामो खडेरी पर्‍यो, एक साताभित्रै पानी नपरे ब्याडको बिउसमेत जोगाउन मुस्किल छ ।’

कतिपय किसानले भने अझैं धानको व्याडसमेत राख्न नसकेको त्रिवेणी गाउँपालिकास्थित सल्लेखोलाका किसान नरबहादुर खड्काले बताए । ‘पोहरसाल सडक खन्दा कुलो पुरियो, पानी कुर्दाकुर्दै व्याड पनि राख्न सकेका छैनौं,’ उनले भने, ‘पानी परे त एक महिनामा बिउ रोप्ने भइसक्छ, यो वर्ष त यही साता वर्षा सुरु भए पनि पनि साउन अन्तिमतिर मात्र रोपाइँ होला जस्तो छ ।’ उनले पानी पर्ने आशामा व्याड राख्ने खेत जोत्ने सुरु गरेको जानकारी दिए । 

सल्यानमा ४३ हजार ७ सय २४ हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार ८० हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले बताए । उनका अनुसार त्यसमध्ये करिव आधा जग्गामा धान खेती हुने गरेको छ । अहिलेसम्म ४३ प्रतिशत धान रोपाइँ सकिएको उनले जानकारी दिए । ‘अनुकूल वर्षा नहुँदा उत्पादनमा पनि असर पर्ने देखियो,’ उनले भने, ‘किसानलाई खडेरीले ठूलो मार पार्‍यो, पानी नपर्दै जोत्दा खेतीयोग्य जमिन सुक्ने भएकाले अहिले अधिकांश खेत बाँझै छन् ।’

रोपाइँको समयमा कर्णालीका किसानलाई सधैं मल, बिउ र सिँचाइको समस्या हुने गरेको कृषिविज्ञ नविन शर्मा बताउँछन् । ‘अहिले भने किसानलाई खडेरीले सतायो,’ उनले भने, ‘समयमै रोपाइँ नहुँदा बाली राम्ररी फस्टाउँदैन, रोगकिराको प्रकोपले पनि सताउँछ, गोडमेलमा पनि समस्या हुन्छ, जसले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने देखियो ।’ उनका अनुसार कर्णालीमा खुमल–४, खुमल–८, खुमल–११, छोमरोङ तथा भित्री क्षेत्रमा राधा–४, राधा–१२, मन्सुली, सावित्री, बिन्धेश्वरी र चैते धानलगायत धान खेती गरिन्छ । यी जातका धानलाई बढी पानी चाहिने उनले जानकारी दिए । 

कर्णालीमा सोमबारसम्म २८.१५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । प्रदेशभरि ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको मन्त्रालयका सचिव सञ्जिवकुमार कर्णले बताए । 

मन्त्रालयका अनुसार सबैभन्दा बढी जुम्लामा ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत, हुम्लामा ७५ प्रतिशत र मुगुमा ६८ प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा ६ प्रतिशत मात्र रोपाइँ भएको छ । जुम्लामा कर्णाली र तिला नदी किनारका क्षेत्रमा मात्र धान खेती गरिने भएकाले रोपाइँ धमाधम भएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए । उनका अनुसार मार्सीधान रोप्ने किसानले चैत २० गतेभित्र ब्याड राख्छन् भने ४० दिनभित्र रोपाइँ सकिसक्नुपर्छ । मार्सीधान ७ महिनामा उत्पादन हुने भएकाले किसानले क्यालेण्डरअनुसार नै यसको रोपाइ, गोडमेललगायतको काम गर्ने उनले जानकारी दिए ।

सुर्खेतमा १४ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत वर्ष ५४ हजार १ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो । ‘प्रदेशभरि सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला भए पनि अधिकांश खेतमा आकाशेपानीकै भरमा खेती हुन्छ,’ मन्त्रालयका कृषि अधिकृत रमेश खड्काले भने, ‘सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसक्यो, अरु किसानले पानी कुरिरहेका छन् ।’

कालीकोटमा ४८ प्रतिशत रोपाइँ सकिएको छ भने रुकुम पश्चिममा ३५ र दैलेखमा १२ प्रतिशत किसानले धान रोपेका छन् । कर्णाली प्रदेशभरि २ लाख ८७ हजार ७ सय ६१ हेक्टर खेतीयोग्य जमिनमध्ये २ लाख ६ सय २ हेक्टरमा खेती गरिएको छ । जसमा झण्डै १९.०६ प्रतिशत (३८ हजार २ सय ३३ हेक्टर) मा मात्र बाह्रै महिना सिँचाइ सुविधा छ ।

गत वर्ष असार १५ गतेसम्म कर्णालीमा झण्डै ५४ प्रतिशत रोपाइँ सकिएको थियो । त्यस्तै अघिल्लो वर्ष असार मध्यतिर ५८ प्रतिशत किसानले रोपाइँ गरेका थिए । गत वर्ष कर्णालीभरि एक लाख ४७ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । खडेरीका कारण प्रदेशभरिका झण्डै ३० प्रतिशत किसानले बिउको व्याडसमेत राख्न नपाएको कृषि अधिकृत खड्काले जानकारी दिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully