ऊर्जामन्त्री श्रेष्ठले गरे जगदुल्ला जलविद्युत् आयोजनाको कार्यालय भवन र पहुँचमार्ग उद्‍घाटन

डोल्पाको आर्थिक उन्नति र समृद्धिको प्रमुख आधार नै जलविद्युत् क्षेत्र बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ

असार १८, २०८३

रामचन्द्र न्यौपाने

Energy Minister Shrestha inaugurates the office building and access road of Jagadulla Hydropower Project

What you should know

काठमाडौँ — ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार डोल्पाको जगदुल्ला गाउँपालिकास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन गरेका छन् ।

बिहीबार जगदुल्ला गाउँपालिकाको काइगउँमा आयोजित एक कार्यक्रमबीच जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको कार्यालय तथा आवास भवनसँगै आयोजनासम्म पुग्ने बेलिब्रिज पुल उद्घाटन गरेका हुन् ।

यससँगै उनले ड्यामसाइटदेखि पावरहावससम्मको सुरुङमार्गको ब्लास्टिङ कार्यको शिलान्यास गरेका हुन् । मन्त्री श्रेष्ठले सुरुमा मुड्केचुला गाउँपालिका स्थित इलमा बनाइएका भवनसंरचना,बेलिब्रिज पुललगायतका पूर्वाधार निरीक्षण गरेका थिए ।

मन्त्री श्रेष्ठले डोल्पाको आर्थिक उन्नति र समृद्धिको प्रमुख आधार नै जलविद्युत् क्षेत्र बन्न सक्ने बताए। जिल्लामा रहेका प्रचुर जलस्रोतको उपयोग गर्न सके आर्थिक विकासले गति लिने उल्लेख गर्दै उनले जलविद्युत् आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नरही रोजगारी सिर्जना, पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम भएको बताए ।

दुर्गम हिमाली जिल्लामा ठूला ऊर्जा आयोजनाको निर्माणले विकासका सम्भावनालाई थप उजागर गरेको बताउँदै उनले जगदुल्ला आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

आयोजनाको पहुँचमार्गमा निर्माण गरिएका बेलिब्रिज र सडकले जिल्लाभित्र तथा बाहिर सडक सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको कम्पनीले जनाएको छ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजनाअन्तर्गत निर्माण गरिएको पहुँचमार्गका रूपमा रहेको सडक र यस मार्गमा बनाइएका सातवटा बेलिब्रिजले स्थानीयवासीको आवतजावत सहज बनाउनुका साथै जिल्लाको सडक विस्तार अभियानलाई समेत टेवा पुर्‍याएको बताए।

उनका अनुसार आयोजनाको निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर बढेका छन् भने व्यापारिक तथा आर्थिक गतिविधि समेत विस्तार हुँदै गएको छ। १०६ मेगावाट क्षमताको जगदुल्ला आयोजना डोल्पाका ठूला जलविद्युत् आयोजनामध्ये एक हो । 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully