चन्दननाथ नगरपालिकाले जुम्ला विमानस्थल आसपास सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका पाँच वटा टहरामा डोजर लगाएको हो ।
What you should know
जुम्ला — चन्दननाथ नगरपालिकाले जुम्ला विमानस्थलनजिकै सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरामा डोजर लगाएको छ । पटकपटक सार्वजनिक जग्गामा बनेका घरटहरा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि डोजर प्रयोग गरेर घरटहरा हटाएको हो ।
डोजर लगाउँदा आक्रोशित भएका स्थानीय जिल्ला प्रशासनसम्म पुगेका थिए । प्रहरी, प्रशासनको सहयोगमा टहरा हटाउन सम्भव भएको नगरपालिकाले जनाएको छ । नगरप्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा टहरा भत्काइएको थियो ।
चन्दननाथ नगरपालिका १ स्थित विमानस्थलमा डोजर लगाएर पाँच वटा टहरा भत्काएको हो । तीन वटा घरटहरालाई १५ दिनभित्र खाली गर्न चेतावनी दिइएको वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, ‘सार्वजनिक जग्गामा बनेका संरचना हटाउनु सुरु भएको छ । अब अव्यवस्थित रुपमा बनेका संरचना समेत हटाइनेछ ।’
विमानस्थलको भगवती मन्दिर क्षेत्रदेखि विमानस्थलको माथिल्लो गेटसम्म सार्वजनिक जग्गामा बनेका सबै घरटहरामा डोजर लगाउने उनको भनाइ छ । उनका अनुसार सहकारीले प्रयोग गरेको टहरा १५ दिनभित्र खाली गर्न भनिएको छ । सहकारीले डेढ वर्षदेखि मासिक तीन हजार रुपैयाँका दरले दिनुपर्ने भाडा समेत तिरेको छैन ।
अहिले नगरक्षेत्रमा सार्वजनिक जग्गा कति हो ? कति संरचना बनेका छन् भन्ने विषयमा अध्ययन भइरहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । ‘पहिले ५ वटा टहरामा डोजर चलाएर खाली गरिएको छ,’ वडाध्यक्ष न्यौपानेले भने, ‘अब नापी कार्यालयबाट प्राविधिक ल्याएर जमिन छुटयाएर मात्र डोजर चलाइनेछ ।’ ती घरटहरामा चियापसल, किरानापसल र होटल थिए । वडाध्यक्ष न्यौपानले खाली गरिएको क्षेत्रमा नमुना पार्किङ बनाइने बताए ।
चन्दननाथ नगरपालिकाको गत वैशाख १७ मा बसेको कार्यपालिका बैठकले विमानस्थलको शोभा हराउने गरेर सार्वजनिक जग्गामा बनेका घरटहरा हटाउने निर्णय गरेको थियो । बैठकले विमानस्थलस्थित काठका टहरा र प्रतिक्षालय जीर्ण अवस्थामा भएकोले उक्त टहरा र प्रतिक्षालयलाई भत्काइ पार्किङ बनाउने र टहरा प्रयोग गर्ने व्यक्तिलाई खाली गर्न ७ दिनभित्र पत्र पठाउने निर्णय भएको थियो ।
