दैलेख दुर्घटना : अझै भेटिएन कर्णालीमा खसेको गाडी

कठिन भूगोल र नदी धमिलो हुँदा उद्धारमा कठिनाइ, यात्रु संख्या अनिश्चित 

असार १८, २०८३

कृष्णप्रसाद गौतम

Dailekh accident: Vehicle that fell into Karnali river still not found

What you should know

सुर्खेत — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा (चिसापानी)बाट कर्णाली नदीमा खसेको गाडी १० घण्टा बित्दासमेत भेटिएको छैन । 

सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब साढे ११ बजे कर्णाली नदीमा खसेको थियो । सुर्खेत बसपार्कबाट ५ जना यात्रु बोकेर छुटेको गाडीमा कतिजना सवार थिए भन्नेबारे एकीन हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नदीमा जलसतह बढेको र गाडी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार घटनास्थलमा एक जनाको मृत्यु भएको छ भने अन्य सबै यात्रु बेपत्ता छन् । 

भीरमा अड्किएको अवस्थामा एक जनाको शव निकालिए पनि उनको सनाखत हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरले बताए । उनका अनुसार दुर्घटनामा परेको गाडी बुलबुले यातायात प्रालिको हो । ‘गाडी अनियन्त्रित भई झण्डै ४ सय मिटर तलको कर्णालीमा खसेको छ, दुर्घटनाको कारण केही खुलेको छैन,’ उनले भने, ‘केही यात्रु बिच बाटोबाट चढेको पनि जानकारी भयो, तर कति यात्रु थिए एकीन भएको छैन, नदीमा पानीको सतह बढिरहेको छ, पानी धमिलो भएकाले गाडी नै नदेखिँदा उद्धारमा कठिनाइ देखियो ।’ उनका अनुसार सशस्त्र प्रहरीको महेश्वर बाहिनीबाट गोताखोरको टोलीलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । 

घटनास्थलमा रहेका प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले अप्ठ्यारो भूगोल र नदीमा डुबेको गाडी नदेखिँदा दुर्घटना भएको झण्डै १० घण्टासम्म पनि उद्धार गर्न नसकिएको बताए । ‘माथितिर ठूलो भीर र तल कर्णाली नदी, उद्धार टोली चारैतिर खटिएको छ,’ उनले भने, ‘तर हामीले गाडी नै देख्न सकेनौं ।’ उनका अनुसार उद्धारका लागि प्रदेश प्रहरी कार्यालयसहित जिल्ला प्रहरी र आसपासका प्रहरी इकाईबाट झण्डै एक सय जना प्रहरी खटिएका छन् । त्यस्तै सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसलगायतलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । 

बिहीबार साँझ अबेरसम्म उद्धारमा सफल नभएपछि शुक्रबार बिहानबाट गोताखोरको टोलीलाई घटनास्थलमा परिचालन गरिने उनले जानकारी दिए । गाडी डुबेको स्थान पाल्ताडा प्रहरी चौकीबाट झण्डै तीन किलोमिटर उत्तरतर्फको दूरीमा छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully