सुर्खेतबाट कालिकोट जाँदै गरेको हायस दैलेखमा दुर्घटना

अछाम पट्टीबाट सर्वसाधारणले गाडी खसेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

असार १८, २०८३

ज्योति कटुवाल

Hayas bus heading from Surkhet to Kalikot meets with accident in Dailekh

काठमाडौँ — कर्णाली राजमार्ग अन्तर्गत दैलेखको सांगेतडा क्षेत्रमा हायस गाडी दुर्घटना भएको छ । प्रारम्भिक जानकारी अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स हाइस (क ०२–००१ ख १०५५) कर्णाली नदीमा खसेको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखको टोली घटनास्थलतर्फ पुगिरहेको छ । उद्धार तथा थप विवरणबारे हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । प्रहरीका अनुसार दुर्घटनाको कारण, यात्रु संख्या तथा क्षतिको विवरण संकलन भइरहेको छ । घटनास्थल खैलेकको चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ मा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ऋषिकेश गौतमले प्रहरीको एक टोली घटनास्थल पुगिसकेको र आफूहरु डिएसपी श्रवणकुमार विकको नेतृत्वमा जाँदै गरेको जानकारी दिए । 

उनका अनुसार अछाम पट्टीबाट सर्वसाधारणले गाडी खसेको देखेर प्रहरीलाई खबर गरेका थिए । दुर्घटनास्थलभन्दा नदी करिब तीन/चार सय मिटर तल रहेको गौतमले बताए । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully