मेलामा पालिकाभित्रका १९ वटै सामुदायक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, कर्मचारी र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता थियो ।
What you should know
काठमाडौँ — हिमा गाउँपालिकाले शिक्षालाई कक्षा कोठामा मात्र सीमित नराखी सिर्जना, विज्ञान, संस्कृति, प्रतिस्पर्धा, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोड्नका लागि पढाई मेला आयोजना गरेको छ । चौथोपटक आयोजना भएको मेला शनिबार कालिका माध्यमिक व्द्यालय तलिकुडुमा सम्पन्न भएको हो ।
शैक्षिक रुपान्तरणको साझा अभियानका रुपमा सुरु गरिएको मेला शुक्रबार र शनिबार दुई दिन चलेको थियो । मेलामा पालिकाभित्रका १९ वटै सामुदायक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, कर्मचारी र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता थियो ।
मेलामा विद्यार्थीहरुले सिर्जनात्मक गतिविधि, विज्ञान प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, देउडा, गीत, हाजिरीजवाफलगायतका प्रतियोगितामा भाग लिए । गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले वर्षभरिका शैक्षिक गतिविधिको समीक्षा, आत्ममूल्याङ्कन र आगामी कार्यदिशा तय गर्ने साझा मञ्चका रूपमा पनि पढाइ मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने, ‘यो पढाइ मेलाले हिमाको समग्र शैक्षिक रूपान्तरणमा एउटा इँटा थप्नेछ। विद्यालय, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, विद्यार्थीमा सिर्जनशीलता र उत्कृष्ट बन्ने प्रेरणा जगाउने उद्देश्यले हामीले पढाइ मेलालाई निरन्तरता दिएका छौं ।'
उनका अनुसार गाउँपालिकाले कुल विकास बजेटको ४३.३७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको छ र विद्यालयबाहिर रहेका शतप्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गरिसकेको छ ।
यस्तै उक्त पालिका साविक कर्णाली अञ्चलकै पहिलो साक्षर गाउँपालिका बनेको छ । नेपालकै दोस्रो बालविवाहमुक्त गाउँपालिकाको पहिचान बनाएको पालिकाले पहाडी र हिमाली जिल्लामध्ये एक घर–एक धारा कार्यक्रममार्फत १६६८ घरधुरीमा स्वच्छ खानेपानी पुर्याउने पहिलो गाउँपालिकासमेत बनेको छ ।
मेलामा विद्यार्थीहरूले आकर्षक विज्ञान प्रदर्शनीमार्फत स्थानीय स्रोतसाधन प्रयोग गरेर तयार गरिएका वैज्ञानिक सामग्री प्रस्तुत गरेका थिए । कतै सौर्य ऊर्जाका नमुना, कतै कृषि तथा वातावरणसँग सम्बन्धित सामग्री, कतै जल संरक्षणका अवधारणा र कतै प्रविधिमा आधारित सिर्जनात्मक नमुनाले दर्शकको ध्यान खिचेका थिए ।
नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय, ओदीका कक्षा १० मा अध्ययनरत विद्यार्थी अकेश रोकायाले पढाइ मेलाले आफूहरूलाई किताबको ज्ञानसँगै व्यवहारिक सिकाइको अवसर दिएको बताए । उनले भने, 'हामीले अन्य विद्यालयका साथीहरूसँग सिक्ने, प्रतिस्पर्धा गर्ने र आफ्ना प्रतिभा देखाउने अवसर पाएका छौँ। यस्तो कार्यक्रमले पढाइप्रति अझ उत्साह बढाएको छ।'
