आइतबार सदरमुकाम दुनैबाट घटनास्थलतर्फ पुगेको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निरन्तर प्रयास गर्दा पनि शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।
डोल्पा — डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका-८ छेप्कास्थित सुलिगाड खोलाको खोंचमा देखिएको शव निकाल्न समस्या भएको छ । आइतबार सदरमुकाम दुनैबाट घटनास्थलतर्फ पुगेको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निरन्तर प्रयास गर्दा पनि शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार आइतबार बिहान ११ बजेतीरमात्रै खोलामा अज्ञात व्यक्तिको शव रहेको जानकारी प्राप्त भएको थियो ।
जानकारी प्राप्त हुनेबित्तिकै सदरमुकामबाटै सुरक्षाकर्मीको टोली खटाएर शव निकाल्ने प्रयास गर्दा पनि निकाल्न नसकिएकाले गृह मन्त्रालयमा पत्र लेखेर तालिमप्राप्त जनशक्ति माग गरिएको बताए । भौगोलिक कठिनाइ र चिसो पानीका कारण शव निकाल्न कठिनाइ भएको बताइएको छ ।
