कालीकोट बन्यो कर्णालीको तेस्रो पूर्णखोप सुनिश्चित जिल्ला

कालीकोटका सबै स्थानीय तहमा जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई सबै प्रकारका खोप लगाएर कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

असार १४, २०८३

तुलाराम पाण्डे

Kalikot becomes the third district in Karnali to ensure full vaccination

What you should know

कालीकोट — कालीकोटलाई कर्णाली प्रदेशको तेश्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । यहाँका ९ वटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर आइतबार जिल्लालाई घोषणा गरिएको हो । 

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्य सचिव तथा स्वास्थ्य सेवा ब्यवस्थापक डा. रत्नवीर सुनारले बताए । 

जिल्लाभरका जन्मेदेखि ५ वर्षमूनिका बालबालिकाले ९ वटा, गर्भवतीका लागि १ र किशोरीका लागि १ गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि जिल्ला घोषणा गरिएको जिसस प्रमुख धनजीत शाहीले बताए । उनले बालबालिकाको जीवन बचाउन खोपलाई कालीकोटका महिला स्वास्थ्यस्वमसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदानले पूर्णखोपयुक्त जिल्ला जिल्ला घोषणा गर्न सफल भएको जानकारी दिए । 

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका खोप फोकल पर्सन कटकबहादुर महतले बताए । उनले कालीकोटका ३ हजार ६ सय ३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिँदै सबैले खोप पाएको बताए ।  

घोषणामा सहभागी हुन कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले दैलेख, सुर्खेतपछि कालीकोटले पूर्णखोप सुनिश्चितता जिल्लाको रुपमा नाम दर्ज गरेकोमा बधाइ दिँदै खोपबाट कोही पनि कहिल्यै पनि नछुट्ने वातावरण बनाउन सबै सरोकारवालाको भूमिका रहने बताए ।

उनले माघ, फागुन र चैतमा घरधुरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाकारुपमा खोप अभियान संचालन गरिएको जानकारी दिँदै छुटेका बालबालिकालाई जेठमा खोप दिएर वडा, पालिका, जिल्ला हुँदै प्रदेशलाई पूर्णखोपयुक्त घोषणाको तालिका रहेको जानकारी दिए । उनका अनुसार असार अन्तिमसम्म प्रदशेलाई घोषणा गरिने छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully