सुक्खा मौसम र मुहान व्यवस्थापन नहुँदा मुसीकोटमा खानेपानी संकट

सुक्खा मौसम र मुहान व्यवस्थापन अभावका कारण मुसीकोट नगरपालिका-१ खलंगा, ३ पिपलनेटा र ५ सेरीगाउँका बासिन्दाले दैनिक पानीको समस्या झेल्नुपरेको छ।

असार ११, २०८३

महेश केसी

Water crisis in Musikot due to dry weather and lack of source management

What you should know

रुकुम पश्चिम — रुकुम पश्चिमको सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । सुक्खा याम बढ्दै जाँदा सदरमुकामको मुख्य बजार क्षेत्र मुसीकोट नगरपालिका-१ खलंगा, वडा नं. ३ पिपलनेटा र वडा नं. ५ सेरीगाउँमा वितरण हुने खानेपानी अपुग हुँदा हरेक वर्ष अभाव हुने गरेको हो ।

मुसीकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत २०७१ सालमा साविकको खानेपानी आयोजनालाई बृहत् आयोजनामार्फत विकास तथा विस्तार गरिएको थियो । हाल यसअन्तर्गत कुल १ हजार १ सय ९५ ग्राहक रहेकामा करिब ८ सय ग्राहकले नियमित रूपमा सेवा प्रयोग गरिरहेका छन् ।

उपभोक्ता समितिका सचिव महेन्द्र गौतमका अनुसार दैनिक न्यूनतम करिब ४ लाख लिटर पानीको माग भए पनि यो याममा मुहानमा पानीको मात्रा घट्दा दैनिक करिब १ लाख लिटरसम्म मात्र पानी आपूर्ति भइरहेकाले समस्या भएको हो ।

Water crisis in Musikot due to dry weather and lack of source management

‘खासगरी चैतदेखि साउनको पहिलो सातासम्म मागअनुसारको पानी पुर्‍याउन मुस्किल हुन्छ । यसको मुख्य कारण भनेकै मुहानमा पानी घट्नु हो,’ सचिव गौतम भन्छन्, ‘पानीको अभाव हुन नदिन अहिले एक दिनको ग्याप राखेर बिहान एक घण्टाका लागि वितरण गरिरहेका छौं ।’

मुसीकोटको पानाखोला, सिजरीखोला, लहरा भिजाउनेखोला र घिउखोला गरी चारवटा मुहानबाट पानी संकलन गरेर वितरण गरिँदै आएको छ । यी मुहानमा बर्खायाममा पानीको मात्रा बढ्दा करिब ४ लाख लिटरजति पानी आउने र मागअनुसार आपूर्ति गर्न सकिने भए पनि यतिबेला भने पानीको मात्रा घट्ने गरेको छ । यसका साथै पानी आपूर्तिमा समस्या हुनुको अर्को कारण यसको उचित व्यवस्थापन नहुनु पनि हो ।

खानेपानी आयोजनाको मूल लाइनमा धेरै ठाउँमा सानो पाइप राखिएको र अहिले त्यहीबाट धेरै ग्राहकसम्म वितरण गर्नुपरेकाले पानी कम हुँदा यसको गति नपुग्ने र आपूर्तिमा समस्या आइरहेको खानेपानी निर्माण प्राविधिक युवराज अधिकारी बताउँछन् ।

‘पानी धेरै हुँदा यसको स्पिड पनि धेरै हुन्छ र सबैतिर पानी पुग्छ । अहिले त पानी नै बिस्तारै आइरहेको छ । त्यसकारण पानी ग्राहकको ट्याङ्कीसम्म चढिरहेको छैन,’ उनले भने ।

समस्याबारे थप स्पष्ट पार्दै संस्थाका सचिव गौतमले समयअनुसार मर्मत–सम्भार तथा आवश्यक विकास र विस्तार हुन नसक्दा पनि समस्या बर्सेनि बढ्दै गएको बताए । माग र आपूर्तिबीच तालमेल नहुँदा ग्राहकको गुनासो बढिरहेको उनको भनाइ छ । अहिले पानी एक/एक दिनको पालोमा वितरण गरिने भनिए पनि त्यसमा नियमितता नभएको भन्दै ग्राहकहरूले गुनासो गरिरहेका छन् । खलंगाका उपभोक्ता विश्वनाथ खत्रीले दुई दिन बिराएर पानी आउने भनिए पनि नियमितता नभएको बताए ।

‘माथि (छतमा) यो याममा पानी चढ्दै–चढ्दैन । तल झारे पनि जेहोस्, दैनिक प्रयोगका लागि जसोतसो जम्मा गर्न सकेका छौं,’ उनले भने । यसै विषयमा अर्का उपभोक्ता सेरीगाउँका बागवीर बोहराले दुई दिनको पालोमा पनि असमानता रहेको भन्दै समितिले स्पष्ट पार्नुपर्ने माग गरे ।

‘एक दिनको ग्यापमा पानी आउने भनिएको छ, तर कहिले त तीन–चार दिनसम्म पनि आउँदैन । कतै भने लगातार आइरहेको हुन्छ । त्यसकारण यसको समाधान निकालेर सबैलाई समान तरिकाले पानीको बाँडफाँट गरिनुपर्छ,’ उनले भने ।

अहिले पानीको अभाव भएको स्वीकार गर्दै सचिव गौतमले उपभोक्ताहरूको लापर्बाही र मनपरी रोक्न नसकिएको भन्दै निराशा व्यक्त गरे । ‘हामीले पाइपलाइन घरसम्म पुर्‍याइदिएका छौं । तर मिटरबाट छुटाएर मनपरी प्रयोग गर्ने, समयमा बिल भुक्तानी नगर्ने तथा हाम्रो मुहानबाटै निजी पाइप हालेर घरसम्म ल्याउनेजस्ता गलत हर्कतका कारण हामीलाई समस्या भइरहेको छ । यसको नियन्त्रण र निवारण गर्न समिति एक्लैले सकिरहेको अवस्था छैन,’ उनी भन्छन् । ‘यसमा उपभोक्ताहरू नै सचेत हुनुपर्‍यो । साथै स्थानीय सरकार र सदरमुकाम क्षेत्र भएकाले स्थानीय प्रशासनले पनि हामीलाई सहयोग गर्नुपर्‍यो ।’

Water crisis in Musikot due to dry weather and lack of source management

अहिले यहाँका ग्राहकबाट मासिक रूपमा ५ हजार लिटरसम्म पानी प्रयोग गरेमा न्यूनतम १ सय ७५ रुपैयाँ, ५ हजारदेखि १० हजार लिटरसम्म प्रति युनिट ४५ रुपैयाँ, १० हजारदेखि २० हजार लिटरसम्म प्रतियुनिट ६५ रुपैयाँ र २० हजार लिटरभन्दा बढी पानी प्रयोग गर्ने ग्राहकबाट प्रति युनिट १ सय रुपैयाँ शुल्क लिने गरिएको छ ।

पछिल्लो स्थानीय निर्वाचनबाट मुसीकोट नगरपालिकाको प्रमुखमा निर्वाचित महेन्द्र केसीको मुख्य चुनावी एजेन्डा नै खानेपानीको विषय थियो । उनले आफ्नो प्रतिबद्धतापत्रमा ‘न्यूनतम खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउने’ उल्लेख गरेका थिए । तर उनले भनेजस्तो खानेपानी निःशुल्क त परको कुरा भयो, शुल्क तिरेर पनि यो सिजनमा पानी पाउन मुस्किल भइरहेको छ ।

आफ्नो उक्त प्रतिबद्धताबारे स्पष्ट पार्दै प्रमुख केसीले न्यूनतम महसुल निःशुल्क गर्न कार्यपालिकामा पहल गरे पनि सफल हुन नसकेको बताए । 

‘पहिलो कुरा त कार्यपालिकामा हाम्रो बहुमत नभएका कारण चुनावी प्रतिबद्धता हुबहु कार्यान्वयन गर्न सकिएन। अर्को कुरा, खानेपानीको न्यूनतम शुल्कमा छुट दिने विषयमा अन्य पालिकाले गरेको काम हेर्दा यो कानुनसम्मत नहुने रहेछ। छुट दिए पनि पछि महालेखा परीक्षकको कार्यालयले बेरुजु निकाल्ने जोखिम भएकाले चाहेर पनि गर्न सकेनौं,’ उनले भने।

समस्याको जञ्जालमा उपभोक्ता समिति

मुसीकोट खलंगा खानेपानी उपभोक्ता समिति नै समस्याको जञ्जालमा जेलिएको छ। यो खानेपानी आयोजना एसियाली विकास बैंक (एडीबी)बाट ऋण लिएर नगर विकास कोषमार्फत निर्माण तथा सञ्चालन गरिएको हो ।

निर्माणको कुल लागतअन्तर्गत नगर विकास कोषले ७० प्रतिशत अनुदान सहयोग गरेको र बाँकी ३० प्रतिशत रकम स्थानीय उपभोक्ताबाट उठाएर २५ वर्षभित्र तिर्ने गरी ऋण लिइएको थियो । तर १२ वर्ष बितिसक्दा पनि समितिले उक्त ऋण तिर्न नसकेको गौतम बताउँछन् ।

‘उपभोक्ताबाट शुल्कबापत मासिक ३ लाख ५० हजार रुपैयाँ उठ्ने गरेको छ। हाम्रा १४ जना कर्मचारी छन् । यो रकम उनीहरूमै खर्च भइरहेको छ । उता नगर विकास कोषलाई अहिले पनि करिब ५ करोड रुपैयाँ तिर्न बाँकी छ,’ उनी भन्छन् । ‘बर्सेनि घट्दै जानुपर्ने ऋण एकातिर बढिरहेको छ भने अर्कोतिर उपभोक्ताको आवश्यकता पूरा गर्न सकिएको छैन।’

यसका साथै समितिको पुनर्गठन गर्नुपर्ने बेला भइसक्दा पनि अहिलेसम्म दुई पटक साधारणसभा आह्वान गर्दा उपभोक्ताको पर्याप्त उपस्थिति नहुने समस्या रहेको छ। जसका कारण यस क्षेत्रको खानेपानी व्यवस्थापन भद्रगोल बन्दै गएको देखिन्छ।

यो समस्याको समाधान गरेर सदरमुकाम क्षेत्रमा खानेपानी आपूर्तिलाई सहज बनाउन सरकारी सहयोग पर्याप्त नभएको गुनासो समितिको छ। ‘मुहान उही, पाइप लाइन उही, तर ग्राहक संख्या बर्सेनि बढ्दै गएको छ। यसरी कसरी समस्याको समाधान हुन्छ ?’ सचिव गौतम प्रश्न गर्छन्, ‘स्थानीय, प्रदेश अथवा संघीय सरकारमध्ये कुनै न कुनै तहले यसलाई गम्भीरतापूर्वक लिएर समाधानका लागि प्रयास नगरेसम्म अहिलेको अवस्था चल्न सक्दैन।’

सदरमुकाम क्षेत्रमा खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन आसपासमै प्रशस्त पानीका मुहान भए पनि दिगो योजना नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन।

यस विषयमा नगर प्रमुख केसी भन्छन्, ‘खानेपानी आपूर्तिलाई सहज बनाउन पहिलो कुरा त मुहानबाट सकेसम्म धेरै पानी ट्याङ्कीमा ल्याउनुपर्छ, जुन अहिले समितिले गर्न सकिरहेको छैन । विभिन्न व्यक्ति, टोल र संस्थाले आफ्नो तरिकाले पाइप राख्ने, घट्ट चलाउने तथा बिजुली निकाल्ने गरेकाले योजनाअनुसार पानी आइरहेको छैन ।’

उनले थपे, ‘यसको समाधानका लागि नगरपालिकाका तर्फबाट समितिसँग आवश्यक समन्वय र सहकार्यको प्रयास विगतदेखि नै गरिरहेका छौं । साथै, लिफ्ट प्रणालीमार्फत नजिकका मुहानबाट पानी संकलन गर्ने गरी प्रदेश सरकारमार्फत यस वर्ष योजना बनाइएको छ । त्यो कार्यान्वयन भएमा अवस्था सहज होला भन्ने विश्वास छ।’

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully