जिल्लाका सबै पालिकाले कृषि, पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आफ्ना वार्षिक बजेट सार्वजनिक गरेका छन्।
What you should know
वीरेन्द्रनगर — सुर्खेतका नौवटै स्थानीय तहले बजेट ल्याएका छन् । संवैधानिक व्यवस्थाअनुसार १० असारभित्र स्थानीय तहहरुले नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने हुन्छ ।
तोकिएको समयकै यहाँका सबै पालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ को वार्षिक बजेट ल्याइसकेका छन् । नौवटै स्थानीय तहको कुल बजेट नौ अर्ब ७३ करोड ९० लाख ९१ हजार रुपैयाँ छ ।
नयाँ नीति तथा कार्यक्रम र बजेटमा पालिकाहरुले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ । अधिकांश पालिकाले पुँजीगतभन्दा झन्डै दोब्बरले चालुतर्फको खर्च र स्रोत अनुमान पेस गरेका छन् ।
जिल्लाका पालिकाहरुले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवाप्रवाह, आर्थिक समृद्धि, सञ्चार तथा सूचना प्रविधि, युवा तथा महिला सशक्तीकरण, पर्यटन प्रवद्र्धनलगायत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड २० लाख ७२ हजार रुपैयाँको आय र व्यय अनुमान गरेको छ । बुधबार १९औं नगरसभामा नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आगामी आव ०८३/८४ का लागि चालुतर्फ १ अर्ब ६८ करोड ३१ लाख ८९ हजार (३६ प्रतिशत) र पुँजीगततर्फ ३ अर्ब दुई करोड ७० लाख ८२ हजार (६४ प्रतिशत) विनियोजन गरिएको बताए ।
यस्तै गुर्भाकोट नगरपालिकाले १ अर्ब आठ करोड रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ६० करोड र पुँजीगततर्फ ५८ करोड ९२ लाख विनियोजन गरिएको पालिकाले जनाएको छ ।
भेरीगंगा नगरपालिकाले ४३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । पञ्चपुरी नगरपालिकाले ६९ करोड ६२ लाख ३४ हजार बजेट ल्याएको छ । लेकबेंसी नगरपालिकाले ६९ करोड ३९ लाख २४ हजार ६०१ रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ४६ करोड ४१ लाख ९१ हजार ६०१ रुपैयाँ र पुँजीगततर्फ २२ करोड ९८ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बराहताल गाउँपालिकाले ६३ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ कुल बजेटको ६८ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत छ । चौकुने गाउँपालिकाले चालुतर्फ ४० करोड ८६ लाख ६६ हजार रुपैयाँ र पुँजीगततर्फ १९ करोड ८७ लाख ५० हजार रुपैयाँ गरी कुल ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
यस्तै सिम्ता गाउँपालिकाले चालुतर्फ ४४ करोड ४१ लाख १६ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड २३ लाख १४ हजार रुपैयाँ गरी कुल ६० करोड ६४ लाख ३० हजार रुपैयाँबराबरको बजेट ल्याएको छ।
चिंगाड गाउँपालिकाले ४४ करोड ४६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ३३ करोड एक लाख ८१ हजार र पुँजीगततर्फ ११ करोड ४४ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
