शिक्षा, स्वास्थ्य, खानेपानी र नागरिक आवासमा प्राथमिकता दिँदै सल्यानका अधिकांश पालिकाले यस वर्ष बजेट सार्वजनिक गरेका छन्।
What you should know
सल्यान — तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको सल्यानमा नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५ अर्ब ८८ करोड ७१ लाखको बजेट ल्याएका छन् ।
स्थानीय सरकार संचालन ऐन अनुसार असार १० मा नगर तथा गाउँसभा गरेर बजेट ल्याउनु पर्ने ब्यबस्था अनुसार सल्यानका नौ स्थानीय तहले ५ अर्ब ८८ करोड ७१ लाखको बजेट ल्याएका हुन् ।
गाउँसभाबाट बजेट ल्याउने तयारी गरिरहेको बेला मोटरसाइकल दुर्घटनामा पालिका अध्यक्ष दानबहादुर खत्री घाइते भएपछि कालिमाटी गाउँपालिकाले मात्र बजेट ल्याउन सकेन ।
शारदा नगरपालिकाले १ अर्ब ३६ करोड, बाग्चौर नगरपालिकाले ७७ करोड २३ लाख , बन्गाड कुपिण्डे नगरपालिकाले ८० करोड ४६ लाख, त्रिबेणीले ५९ करोड २१ लाख, कुमाखले ५३ करोड ९७ लाख, छत्रेस्वरीले ५३ करोड ७६ लाख, कपुरकोटले ४६ करोड ५८ लाख, दार्माले ४२ करोड १७ लाख र सिद्धकुमाख गाउँपालिकाले ३९ करोड २९ लाख बजेट ल्याएको छ ।
सबैभन्दा बढी बजेट ल्याएको शारदा नगरपालिकाले चालुतर्फ ६६ करोड ९० लाख, पुजीगतमा ६९ करोड ११ लाख, बन्गाड कुपिण्डे नगरपालिकाले चालुतर्फ ४४ करोड ५५ लाख, पुजीगतमा ३५ करोड ९० लाख, बाग्चौर नगरपालिकाले चालुतर्फ ५३ करोड ९८ लाख, पुजीगतमा २३ करोड २४ लाख विनियोजन गरेका छन भने त्रिबेणी, कुमाख, छत्रेस्वरी, दार्मा, कपुरकोट, सिद्धकुमाखले कुल बजेटको ३० देखि ३५ प्रतिशत पुजीगत खर्चको लागि विनियोजन गरेका छन् ।
स्थानीय तहहरुले विगतमा जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका छन् । सबैभन्दा बढी बजेट विनियोजन गरेको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले शिक्षा, स्वास्थ्यसँगै खानेपानीलाई प्राथमिकता दिएको बताए । सुरक्षित तथा घरघरमा खानेपानी पुऱ्याउन ५० करोड विनियोजन गरेका जानकारी दिए ।
कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले सुरक्षित नागरिक आवास, बालमैत्री स्थानीय शासन र बिषादी नियन्त्रणलाई प्राथमिकता दिएको बताए । सुरक्षित नागरिक आवासको लागि १ करोड ५० लाख , बालमैत्री स्थानीय शासनका लागि ४५ लाख विनियोजन गरेको उनले जानकारी दिए ।
यता बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले बजेटले विगतमा जस्तै गुनस्तरिय शिक्षा, स्वास्थ्यसँगै कृषि, रोगजार तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताए ।
