प्रमुख प्रतिपक्ष नेकपाले आगामी आर्थिक वर्षको बजेट उद्देश्यविहीन र असन्तुलित भएको आरोप लगाउँदै कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।
सुर्खेत — कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा गम्भीर कमजोरी रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबार प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।
बजेट उद्देश्यविहीन, असन्तुलित र जनअपेक्षाअनुसार नभएको आरोप लगाउँदै प्रतिपक्षी दल नेकपाले बैठक चल्न नदिएको हो।
प्रदेश सभाको बैठकमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले सरकारले प्रतिपक्षका सुझाव र असहमति बेवास्ता गर्दै बहुमतको आडमा बजेट पारित गर्न खोजेको आरोप लगाए।
उनले विपक्षी दललाई पेलेर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताए। ‘गलत कुरा पनि बहुमतको बलमा पारित गर्न खोजिएको छ, यो प्रतिपक्षलाई स्वीकार्य हुँदैन,’ शाहीले बैठकमा भने, ‘बजेटमा स्पष्ट प्राथमिकता छैन, योजना छनोटमा उद्देश्य देखिँदैन र जनताका आवश्यकता सम्बोधन हुने आधार पनि कमजोर छ।’
प्रतिपक्षले बजेटमाथि पुनः छलफल गरी कमजोरी सच्याउन सरकारसँग माग गरेको छ। संसद् अवरुद्ध भएपछि प्रदेश सभाको बैठक केही समयका लागि प्रभावित भएको थियो। सरकारले भने बजेटमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरिरहेको जनाएको छ।
कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ।
