पालिका अध्यक्ष नै दुर्घटनामा परेर घाइते भएपछि सबैको सहमतिमा गाउँसभा स्थगित गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर खत्रीले बताए ।
सल्यान — कालिमाटी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । नीति तथा बजेटको सबै काम सकेर पालिकाबाट घर फर्किएका बेला बुधबार पुतलीबजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गाउँपालिका अध्यक्ष दानबहादुर खत्री घाइते भएपछि असार १० गते हुने भनिएको गाउँसभा स्थगित भएको हो ।
पालिकाले उपाध्यक्ष सहनशीलता ओली डीसीको अध्यक्षतामा बैठक बसेर गाउँसभा स्थगित गरेको हो । पालिकाले गाउँसभाको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने सबै तयारी सम्पन्न गरिसकेको थियो । गाउँसभा स्थगित भएपछि पालिकामा उपस्थित भएका सबै जनप्रतिनिधि, दलका नेता तथा सर्वसाधारण घर फर्किएका थिए ।
पालिका अध्यक्ष नै दुर्घटनामा परेर घाइते भएपछि सबैको सहमतिमा गाउँसभा स्थगित गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर खत्रीले बताए । नीति तथा कार्यक्रम र बजेट लगायतका सम्पूर्ण तयारी भइसकेको र सार्वजनिक गर्न मात्र बाँकी रहेकाले गाउँसभा कहिले गर्ने भनेर मिति नतोकिएको उनले जानकारी गराए ।
उनका अनुसार असार १० गतेभित्र गाउँ सभा गरेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नु पर्ने भएकाले त्यही अनुसार आफूहरुले तयारी गरेको उनले बताए । असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अध्यक्ष दानबहादुर खत्रीको टाउको र हातमा चोट लागेकाले उपचारका लागि नेपालगन्ज लगिएको र उपचारमा ढिलाइ भए उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सम्पन्न गरिने उनको भनाइ छ ।
