सामुदायिक विद्यालयमा खेल प्रशिक्षक राख्दै वीरेन्द्रनगर

स्थानीय तहले विद्यालयमै खेलकुदको पूर्वाधार र प्रशिक्षणमा जोड दिन थालेसँगै जिल्लामा खेल संस्कृतिको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिएको नगर प्रमुख ढकालको भनाइ ।

असार १०, २०८३

ज्योति कटुवाल

Birendranagar, hiring sports coaches in community schools

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सामुदायिक विद्यालयबाटै खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यसहित नगरभित्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने भएको छ।

बुधबार सम्पन्न १९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रत्येक सामुदायिक माध्यमिक विद्यालयमा खेल प्रशिक्षक व्यवस्थापन गर्ने घोषणा गरेको हो।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार विद्यालयस्तरबाटै नियमित प्रशिक्षणको वातावरण सिर्जना गरी विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने, लुकेका प्रतिभाको पहिचान गर्ने तथा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ।

'प्रशिक्षक व्यवस्थापनपछि विद्यालयमा नियमित खेल गतिविधि सञ्चालन हुनुका साथै विभिन्न खेल विधामा विद्यार्थीको सहभागिता र प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने अपेक्षा छ,' उनले भनिन् ।

स्थानीय तहले विद्यालयमै खेलकुदको पूर्वाधार र प्रशिक्षणमा जोड दिन थालेसँगै जिल्लामा खेल संस्कृतिको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको नगर प्रमुख ढकालको भनाइ छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully