डोल्पाका ७ पालिकाले ल्याए बजेट, त्रिपुरासुन्दरीको सबैभन्दा बढी

जिल्लाका ८ स्थानीय तहमध्ये ७ पालिकाले बजेट सार्वजनिक गरे पनि मुड्केचुला गाउँपालिकाले सार्वजनिक गरेको छैन ।

असार १०, २०८३

रामचन्द्र न्यौपाने

7 municipalities in Dolpa bring budget, Tripura Sundari has the highest

डोल्पा — हिमाली जिल्ला डोल्पाका ७ स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् । जिल्लाका ८ स्थानीय तहमध्ये ७ पालिकाले बजेट सार्वजनिक गरे पनि मुड्केचुला गाउँपालिकाले सार्वजनिक गरेको छैन ।

सार्वजनिक भएका बजेटमध्ये सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिकाको छ । त्रिपुरासुन्दरीले आगामी आर्थिक वर्षका लागि ५८ करोड ८७ लाख ७५ हजार ६ सय ४ रुपैयाँ ६० पैसा बराबरको बजेट सार्वजनिक गरेको हो । 

सार्वजनिक बजेट नगरसभाको बन्द सत्रबाट अनुमोदन गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी ठुलीभेरी नगरपालिकाले ५० करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख श्ववर्णकुमार बुढाका अनुसार असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गरी असार ९ गते नगरसभाबाट सर्वसम्मत रूपमा बजेट पारित गरिएको हो । ठुलीभेरी जिल्लामै सबैभन्दा पहिला बजेट ल्याएको हो ।

काइके गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३३ करोड ३७ लाख ४९ हजार १ सय ८३ रुपैयाँ ८० पैसा बराबरको बजेट ल्याएको छ । 

गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले बजेट जनताको अपेक्षा र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको बताए ।

शे-फोक्सुण्डो गाउँपालिकाले ३३ करोड ८ लाख २४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ भने जगदुल्ला गाउँपालिकाले ३० करोड २१ लाख ३६ हजार ३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

गाउँसभाबाट पारित बजेटमध्ये १३ करोड १३ लाख ६० हजार रुपैयाँ पुँजीगत तथा १७ करोड ७ लाख ७६ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ ।

यस्तै आर्थिक विकासतर्फ १ करोड ८४ लाख ६६ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ९ करोड ५ लाख ६० हजार रुपैयाँ तथा सामाजिक विकासतर्फ ७ करोड ८३ लाख ८५ हजार रुपैयाँ छुट्याइएको छ ।

बुधबार बजेट ल्याएर पारित गरेको जगदुल्ला गाउँपालिकाले प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौती भए पनि उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्दै बजेट ल्याइएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले बताए ।

आर्थिक सुशासन कायम गर्न जिल्लामै अब्बल पालिकका भए पनि कर्णाली प्रदेश सरकारले दिने अनुदान कम हुँदा गतबर्ष भन्दा बजेट घटेको गाउँपालिकाले जनाएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाले २८ करोड १३ लाख ९० हजार ६ सय ६६ रुपैयाँ ६० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ ।

छार्काताङसोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २७ करोड ९० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । 

जिल्लाका अन्य स्थानीय तहले बजेट सार्वजनिक गरिसक्दा मुड्केचुला गाउँपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । गाउँपालिकाकी उपाध्यक्ष दुदा रोकायाका अनुसार अध्यक्ष दत्तबहादुर शाहीकी आमा बिरामी भई उपचारका लागि जिल्ला बाहिर रहेकाले बजेट सार्वजनिक गर्न ढिलाइ भएको हो । केही दिनभित्रै गाउँसभा सम्पन्न गरी बजेट सार्वजनिक गरिने उनले बताइन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully