विभिन्न घटना र दुर्घटनाका कारण रुकुम पश्चिममा पछिल्ला २० दिनमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
What you should know
रुकुम पश्चिम — विभिन्न घटना, दुर्घटना र आत्महत्याका कारण रुकुम पश्चिममा गत २० दिनको अवधिमा ९ जनाले ज्यान गुमाएका छन् । गत जेठ २० गतेदेखी यही असार ८ गतेभित्र ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आइतबार मात्रै तीन जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका–३ मुग्लुखोलामा ब्याट्रीबाट माछा मार्ने क्रममा करेन्ट लागेर मुसिकोट–१ का २५ वर्षीय सुन्दर भण्डारीको मृत्यु भयो भने, सोही दिन सानीभेरी गाउापालिका–७ का ४७ वर्षीय रामबहादुर ओली सोही पालिकाको वडा नं. ४ मुसेखोलास्थित सानीभरी नदीको टापुमा मृत अवस्थामा फेला परेका छन् । र बाँफिकोट गाउँपालिका–१० की ६३ वर्षीया कमला खत्री पनि सोही दिन मुसिकोट–१ सल्ले स्थित गोरोटो बाटोमा मृत फेला परेकी छिन् ।
यही असार ५ गते मुसिकोट नगरपालिका–३ पिपलनेटाका ४० वर्षीय प्रहरी हवल्दार नरबहादुर नेपालीको उपचारका क्रममा कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरीले छ । सोही दिन आठविसकोट नगरपालिका–११ गत्तासैनामा ट्याक्टरले ठक्कर दिँदा सोही पालिका वडा नं. ८ की १८ महिनाकी बालिका एञ्जिला परियारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ २४ गते मुसिकोट–५ सेरिगाउँको एक घरमा सिमेन्ट प्लास्टर गर्ने क्रममा घरको शौचालयको छतको भाग खसी गम्भीर घाइते भएका ४४ वर्षीय कृष्णबहादुर खड्काको मृत्यु भएको थियो । साथै जेठ २८ गते मुसिकोटका एक जना, २७ गते चौरजहारी नगरपालिकाका एक जना र २३ गते आठविसकोटका एक जना गरी तीन जनाले आत्महत्यासमेत गरेको प्रहरीको पछिल्लो तथ्यांक छ ।
उल्लेखित मृत्यु अन्तर्गत शंकास्पद लागेका घटनाहरुमा प्रहरीले विभिन्न तरिकाले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले बताएका छन् ।
