गत जेठमा नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका बुढा पदमुक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
What you should know
जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन् । गत जेठमा नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका बुढा पदमुक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उनी गत जेठ महिनामा गुठीचौर–३ का वडाध्यक्ष इन्द्रबहादुर बुढासहित रास्वपामा प्रवेश गरेका थिए ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट लिएर तत्कालीन एकीकृत समाजवादीका प्रत्यासी जनक थकालीलाई एक सय ७५ मतले पराजित गरेका बुढाले २०७४ को स्थानीय तहको निर्वाचनमा ६ सय ७९ मत प्राप्त गरेका थिए ।
कांग्रेसको निकै कमजोर क्षेत्रका रुपमा रहेको गुठीचौरमा उनले जितेर पार्टीको किल्ला स्थापित गरेका थिए । तर पछिल्लो समयमा सुशासन र पारदर्शीताको अभियानलाई समर्थन गर्दै रास्वपामा प्रवेश गरे ।
उनी अहिले भर्खरै सकिएको रास्वपा कर्णाली प्रदेशको अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित भएका छन् । उनले निर्वाचन आयोगले पदमुक्तको पत्र पठाउनेमा पहिलै जानकारी भएको उनको भनाइ छ । ‘मलाई निर्वाचन आयोगले पदमुक्तको निर्णय गर्छ भन्ने पहिले नै थाहा थियो । मैले रास्वपामा प्रवेश गर्दा कांग्रेसले पद फाल्न सक्छ भने फालोस भन्ने चुनौती पनि दिएको थिएँ ।’
उनले स्वेच्छिक राजीनामा, पदावदी सकिएको र मृत्यु भएको खण्डमा मात्रै पद रिक्त हुने संवैधानिक व्यवस्था गरेको भन्दै आफू कानुनी उपचारमा जाने बताए । उनले रास्वपा र मतदाताको राय लिएर अघि बढ्ने जानकारी गराए । उनले बजेटको मुखैमा पदमुक्त गरेर बजेट निर्माण गर्न पाउने अधिकार आयोगले कुण्ठित गरेको आरोप लगाए ।
कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपिसहित निर्वाचन आयोगमा पदमुक्तका लागि पठाएको थियो । सोही अनुसार असोज ८ गते आयोगले राजनीतिक दलसम्बन्धट्ठ नियमावली २०७४ को नियम २२ उपनियम २ बमोजिम निर्वाचित पद स्वत रिक्त भएको सूचना जारी गरेको हो ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय कार्यसमितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।
अध्यक्ष बुढासँगै काँग्रेसबाट निर्वाचित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट पालिका अध्यक्षको टिकट लिएर पराजित भएका बुढाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा जितेका थिए । २०७४ अघि उनी नेकपा एमालेका आवद्ध थिए । पहिलो स्थानीय तहको निर्वाचनमा टिकट नदिएको भन्दै उनी कांग्रेसमा प्रवेश गरेका थिए । तत्कालीन माओवादी जनयुद्धमा पनि होमिएका बुढाले अहिलेसम्म तीनवटा ठूला पार्टी बदलिसकेका छन् ।
गुठीचौर गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महाताराले अध्यक्ष बुढा पदमुक्त भएको पत्र पालिकामा आइपुगेको बताए । उनका अनुसार अध्यक्ष पदमुक्त हुने हल्लाका एकदिन अगावै बजेट ल्याउने तयारी थियो । सोही अनुसार आज गाउँसभा आयोजना हुनेछ । सोमबार बसेको गाउँकार्यपालिका बैठकले आज डल्लो बजेट ल्याउने निर्णय गरेको थियो । प्रवक्ता महाताराले भने, ‘मंगलबार गाउँसभा बोलाइएको छ । डल्लो बजेट ल्याउने तयारी छ ।’
अध्यक्ष बुढाले अदालतको आदेश ल्याउन सकेमा असार मसान्तसम्म बजेटको बाँडफाँट गर्ने र नल्याएको खण्डमा उपाध्यक्षको नेतृत्वमा बजेट विनियोजन गर्ने निर्णय भएको छ ।
