पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

वीरेन्द्रनगर र पञ्चपुरीका तीन किशोरकिशोरीको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

असार ७, २०८३

तृप्ति शाही

3 people drown while swimming

वीरेन्द्रनगर — सुर्खेतमा पौडी खेल्ने क्रममा दुई स्थानमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलमा बस्ने दीपक थापाकी १४ वर्षीया छोरी सम्झना थापा र मानबहादुर रावतकी १३ वर्षीया छोरी कल्पना रावत छन् ।

शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए ।  खबर पाउनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको कमाण्डमा ५ जनाको टोलीले उद्वार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । उनीहरूलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै शनिबार दिउँसो सुर्खेतको पञ्चपुरी गाउँपालिका-८ स्थित दहतालमा पौडी खेल्न गएका दैलेखको गुराँस गाउँपालिका घर भइ  वीरेन्द्रनगर नगरपालिकामा बस्दै १८ वर्षका रमेश पुन मगर बेपत्ता भएका थिए । उनको खोजीका लागि खटिएको सुरक्षाकर्मीको टोलीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully