९ हजार ७ सय १५ किलोमिटर सडक भएको कर्णाली प्रदेशमा १ ट्राफिक प्रहरीले १ सय ८८ सवारीसाधन हेर्नुपर्छ । प्रदेशमा २ सय २० जना ट्राफिक प्रहरीको जनशक्ति छ ।
What you should know
वीरेन्द्रनगर — दुर्घटना न्यूनीकरणका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहितले सामूहिक प्रतिबद्धता जनाएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा ‘सवारी दुर्घटना न्यूनीकरणका लागि मेरो हस्ताक्षरसहितको प्रतिबद्धता’मा मुख्यमन्त्रीसहितले हस्ताक्षर गरेका हुन् ।
‘म गर्छु ट्राफिक नियमको पालना, घटाउँछु सवारी दुर्घटना’ भन्ने नारासहितको प्रतिबद्धता पत्रमा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङ, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटा लगायतका सरकोकारवाला निकायका प्रतिनिधिहरूले प्रतिबद्धतापत्रमा सामूहिक हस्ताक्षर गरेका हुन् ।
कर्णाली प्रदेशमा प्रत्येक दिन ३ देखि ४ वटासम्म सवारी दुर्घटना हुने गरेका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा हरेक ३ देखि ४ दिनमा १ जनाको मृत्यु भइरहेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन ५ देखि ७ जनाको मृत्यु हुने गरेको तथ्याङ्क भएको बताए । यस्तै वार्षिक ३ हजार जनाको हाराहारीमा मृत्यु हुने गरेको छ ।
एसपी रिजालका अनुसार २०८२/८३ को जेठ मसान्तसम्म कर्णालीमा सवारी दुर्घटनामा १ सय २३ जनाको मृत्यु भएको छ । जसमा ९ सय ८० जना गम्भीर घाइते भएका छन् । १ हजार १ सय ८५ सामान्य घाइते भएका छन् । यो आर्थिक वर्षमा ११ सय १५ सवारीसाधन दुर्घटनामा परेका छन् । यस्तै आर्थिक वर्ष २०८१/८२ मा ९ सय ६८ सवारी दुर्घटना भएकामा १ सय ३९ जनाको मृत्यु भएको छ भने ७ सय २ जना गम्भीर घाइते भएका छन् ।
यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १ सय १२ जनाको मृत्यु भएको तथ्याङ्क नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालयको छ । यो आर्थिक वर्षमा ४ सय ७२ जना गम्भीर घाइते भएका छन् । यस आवमा १ हजार ८६ सवारी दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७९/८० मा ५ सय ४९ सवारी दुर्घटना भएकामा १ सय ३१ जनाको मृत्यु भएको थियो । ३ सय ३८ जना गम्भीर घाइते भएका थिए ।
९ हजार ७ सय १५ किलोमिटर सडक भएको कर्णाली प्रदेशमा १ ट्राफिक प्रहरीले १ सय ८८ सवारीसाधन हेर्नुपर्छ । प्रदेशमा २ सय २० जना ट्राफिक प्रहरीको जनशक्ति छ ।
कर्णालीमा ट्राफिक प्रहरीले न्यून जनशक्ति र स्रोतसाधनको अभावका बीच काम गर्नुपर्ने बाध्यता भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख रिजाल बताउँछन् । ‘यहाँको सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति छ । तर यसको नियन्त्रणका लागि स्तरिय राडरगन लगायतका सामग्री छैनन्,’ उनले भने, ‘यसले काममा चुनौती थपिएको छ । दुर्घटना हुँदा घाइतेलाई तत्कालै उद्धारका लागि दक्ष स्वास्थ्यकर्मीसहितको सुविधासम्पन्न रेस्क्यु भ्यान कर्णालीका लागि आवश्यक छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले यस विषयमा प्रदेश सरकारले आवश्यकता महसुस गरेको बताउँदै प्रदेश सरकारले रेस्क्यु भ्यान व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । पछिल्लो समय ट्राफिक प्रहरीले गर्दै आएका जनचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गरेको पनि उनले बताए ।
हचुवाका भरमा खनिएका सडकका कारण एकातिर पैसा खर्च र अर्कोतिर मानिसको ज्यानै गइरहेको मुख्यमन्त्री कँडेलले बताए । इन्जिनियरले भन्दा पनि कुनै व्यक्तिका कारण सडकको काम हुने प्रवृत्तिले यस्तो समस्या आएको उनले बताए ।
पछिल्लो समय न्याय दिने निकाय नै असुरक्षित भएको औंल्याउँदै मुख्यमन्त्री कँडेलले कर्णाली सरकारले प्रहरीलाई आवश्यकताका आधारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा २८ वर्षदेखि लामो दूरीको सुर्खेत–काठमाडौं बस सञ्चालन गर्दै आएका चालक भीमबहादुर बोहरालाई सम्मान गरिएको छ । दुर्घटनारहित यात्रा गराएको भन्दै ५२ वर्षका उनलाई सम्मान गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले बताए ।
