सल्यानमा एक महिनामा २७ जना पक्राउ, ८ थान भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय सल्यानले जेठ महिनामा बलात्कार, ज्यान मार्ने र अन्य अपराधमा संलग्न २७ जनालाई पक्राउ गरेको जनाएको छ।

असार ३, २०८३

विप्लव महर्जन

27 people arrested in Salyan in a month, 8 loaded guns seized

सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानले जेठ महिनामा जिल्लाका विभिन्न ठाउँबाट विभिन्न आरोपमा २७ जनालाई पक्राउ गरेको छ। बलात्कार, ज्यान मार्ने कसुरजस्ता गम्भीर अपराधको आरोपमा चार र सामान्य अपराधको आरोपमा २३ गरी २७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

गम्भीर अपराधअन्तर्गत जबरजस्ती करणीको आरोपमा तीन, ज्यान मार्ने उद्योगमा एक तथा सामान्य अपराधअन्तर्गत बहुविवाहमा दुई, लागूऔषधमा चार, अभद्र व्यवहारमा सात र बैंकिङ कसुरमा ११ गरी २४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताए।

उनका अनुसार पक्राउ परेका २७ जनामध्ये फरार प्रतिवादी १५ जना रहेका छन्। पक्राउ परेकामध्ये फरार प्रतिवादी कारागार चलान भएका छन् भने अन्यलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

जेठ महिनामै जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा तीन, निगालचुलाको बस्नेउरा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेको शान्ति सुरक्षा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा दुई गरी आठ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

जेठ महिनामै जिल्लाका विभिन्न स्थानका खोलाबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गर्ने सात ट्याक्टर, एउटा टिपर र एउटा जेसीबी गरी नौ वटा सवारीसाधन तथा अवैध रूपमा जडीबुटी र काठ ओसारपसार गर्ने मिनी ट्रक र जिप नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनको भनाइ छ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully