मध्यपश्चिम विश्वविद्यालयका १ हजार ९ सय विद्यार्थी दीक्षित हुँदै 

स्नातक तहमा १ हजार २ सय २२, स्नातकोत्तर तहमा ६ सय ९४ र दर्शनाचार्य तहमा १२ जना दीक्षित हुने

असार ३, २०८३

कृष्णप्रसाद गौतम

1,900 students of Midwestern University to be graduated

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालय (एमयू) को चौथो दीक्षान्त समारोह बुधबार आयोजना गरिएको छ । कार्यक्रममा १ हजार ९ सय २८ जना विद्यार्थी दीक्षित हुनेछन् । 

एमयूले एकैदिन दीक्षान्त समारोहसहित १८ औं विश्वविद्यालय सभा र १६ औं वार्षिकोत्सव आयोजना गर्न लागेको हो । विश्वविद्यालयका विभिन्न ग्राजुएट स्कुलअन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्न लागिएको हो ।

जसअनुसार स्नातक तहमा १ हजार २ सय २२, स्नातकोत्तर तहमा ६ सय ९४ र दर्शनाचार्य तहमा १२ जना दीक्षित हुने विश्वविद्यालयका रजिष्ट्रार सहप्राध्यापक डा. अर्जुनबहादुर अयडीले बताए ।

उनका अनुसार ४ सय ५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् । कार्यक्रमको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन् भने त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने विश्वविद्यालयले जनाएको छ । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully