मन्त्री शाहका अनुसार मुगुको राराताल, सुर्खेतको कांक्रेविहार, सल्यानको कुपिण्डेदह र रुकुम पश्चिमको स्यार्पुतालको पूर्वाधार विकासका लागि २१ करोड रुपैयाँ छुट्याइएको छ ।
सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णालीको पर्यटन क्षेत्रको विकासको लागि ५३ करोड ८२ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए ।
मन्त्री शाहका अनुसार मुगुको राराताल, सुर्खेतको कांक्रेविहार, सल्यानको कुपिण्डेदह र रुकुम पश्चिमको स्यार्पुतालको पूर्वाधार विकासका लागि २१ करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै सुर्खेत विमानस्थलको विस्तारका लागि ५ करोड रुपैयाँ छुट्याइएको उनले जानकारी दिए । त्यस्तै जलवायु परिवर्तन उत्थानशील कार्यक्रमका लागि २० करोड ९० लाख छुट्याइएको छ भने जलाधार क्षेत्रको संरक्षण गर्नका लागि २७ करोड १५ लाख, युवा स्टार्टअप कार्यक्रमका लागि ४ करोड १० लाख, उद्यमशीलता र सीप विकासका लागि २ करोड र साना उद्योग प्रोत्साहनका लागि १ करोड विनियोजन गरिएको शाहले जानकारी दिए ।
त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
